मलेसियामाथि किर्तिमानी जित सहित नेपाल सेमिफाईनलमा

पूर्णपुष्टि, कार्तिक १४ । टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल सेमिफाईनलमा प्रवेश गरेको छ । घरेलु टोली नेपालले समुह चारणको दोस्रो खेलमा मलेसियामाथि किर्तिमानी जित निकाल्दै सेमिफाईनल पुगेको हो ।

सोमबार दिउँसो कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै सेमिफाईनलमा स्थान पक्का गरेको हो । मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपालले १२ बल अगावै ४ विकेट गुमाएर पुरा गरेको हो । यो नेपालले टी–२० अन्तर्राष्ट्रियमा पार गरेको अहिलेसम्मकै ठूलो स्कोर हो। यसअघि नेपालले गत साता युएईविरुद्ध १६५ रनको लक्ष्य पूरा गरेको थियो।

नेपालका लागी कुशल मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । उनले ३४ बलमा ७ छक्का र २ चौका हिर्काउँदै ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले २४ बलमा ४ छक्का र ४ चौका हिर्काउँदै ४३ रनको योगदान गरे । अर्का ओपनर आरिफ शेखले २२ बलमा २ छक्का र १ चौका हिर्काउदैँ ३२ रनको योगदान गरे । कप्तान रोहित पौडे २ रनमा आउट भए भने सन्दिप जोरा १८ रन र यादव २ रनमा अवजित रहे ।

यस अघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारीत ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । मलेसियाका लागी ओपनर सयेब अजिजले अर्धशतक प्रहार गरे । उनले ४८ बलमा ६८ रन बनाए भने अर्का ओपनर अहमद जुबिदीले २४ रन बनाए । मलेसियाले अतिरिक्त रूपमा १६ रन पाएको थियो । नेपालका लागी अभिनास बोहराले ४ विकेट लिए भने सन्दिप लामिछानेले २ विकेट लिए । त्यस्तै कप्तान रोहित पौडेल, गुल्सन झा र करन केसीले समान १–१ विकेट लिए ।

समूह ‘ए’ मा लगातार दुई जित निकाल्दै नेपाल सहित ओमान सेमिफाईनलमा प्रवेश गरेको छ । मलेसिया र सिंगापुर भने अन्तिम खेलअघि नै बाहिरिए। नेपालले अब समूह चरणको आफ्नो अन्तिम खेल ओमानसँग बुधबार खेल्नेछ। ओमानसँगको खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्नेछ।प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0