
पूर्णपुष्टि, चैत्र १७ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गरेको पत्र बुझाउन गएको टोली निर्मल निवासको गेटबाटै फर्काइएपछि वैकल्पिक प्रक्रिया अपनाउने भएको छ । आइतबार बिहान महानगरको टोली पत्र हस्तान्तरण गर्न निर्मल निवास पुगेको थियो, तर प्रहरीले उनीहरूलाई प्रवेश गर्न अनुमति दिएन ।
काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले पत्र बुझाउन नपाएपछि अब हुलाक वा अन्य वैकल्पिक माध्यमबाट पत्र पठाइने जानकारी दिए । “निर्मल निवासले पत्र बुझ्न नमानेपछि हामी हुलाक लगायत अन्य प्रक्रियाबाट पत्र बुझाउँछौ,” प्रमुख पाण्डेले बताए ।
यसअघि, चैत १५ गते तीनकुने र कोटेश्वर क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा भएको क्षति र वातावरण प्रदूषण बापत महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन अनुसार जरिवाना तोकेको दाबी गरेको छ ।