Tuesday, April 21News That Matters

२९ बर्षिया महिलाको रहस्यमय मृत्यु

पूर्णपुष्टि, बैशाख १
रुपन्देहीमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । यसलाई माईती पक्षले आत्मा हत्या नभई हत्या भएको संका समेत गरेको छ । तिलोत्तमा नगरपालिका २ भेटनेरी लाईनका २९ बर्षिया अमृता खत्रीले बिष सेवन गरेको पाईएपछि बुधबार राति करिब पौने दस बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका दाजु पुष्पक खत्रीका अनुसार अमृताले बुधबार राति ९ बजेर ३२ मिनटमा अनिताले दाजु पुष्पकलाई बचाउन र घरबाट निकाल्न अपिल गर्दै म्यासेज लेखेकी थिइन् । म्यासेज आएपछि माइती पक्ष सोधखोजमा लाग्दै थिए । तर, उनको मोबाइल अफ थियो । करिब १० बजेर १५ मिनेटपछि प्रेमले बहिनी बिरामी भएको भन्दै अस्पतालमा बोलाएका थिए । यही आधारमा माइतीपक्षले अमृताले विष सेवन गरेको नभई उनका पतिले विष खुवाएको दाबी गरेको छ । अमृताको डायरीमा रहेको अन्तिम पाना च्यातिएकाले पनि घटना रहस्यमयी भएको दाजु पुष्पकले बताए ।

उनीहरुले श्रीमान् प्रेम टण्डन र आफन्तबाट हत्या भएको भन्दै कारबाहीको मागसहित अमृताको घर घेराउ गरेका छन् । पीडकलाई कारबाहीको माग गर्दै बिहीबार बिहानदेखि दिउँसोसम्म माइती र स्थानीयले घर घेराउ गरेका हुन् । पछिल्लो समयमा पटक–पटक घरपरिवारले कुटपिट र यातना दिएको र बुधबार विष सेवन गराएको स्थानीयको दाबी छ । दबाब बढेपछि सोधपुछका लागि भन्दै प्रहरीले प्रेमलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार विष सेवन गरेकी अमृतालाई उनका श्रीमान्ले नै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याएका थिए । तर अस्पतालले ९ बजेर ५५ मिनटमा उनलाई मृत घोषणा गरेको थियो । बाटोमा आउँदै गर्दा मृत्यु भएको अस्पतालको सूचनामा उल्लेख छ । यद्यपि माइतीले हत्याको दाबी गरेपछि प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।

तिलोत्तमा–२ बरपिपलपथकी अमृताको करिब ९ वर्षअघि बिहे भएको थियो । उनका ८ वर्षे छोरा छन् । भारतमा मजदुरी गर्ने प्रेम ५ वर्ष यता तिलोत्तमामा बस्न थालेका थिए । मंगलबार मात्रै अमृतामाथि कुटपिट भएपछि छिमेकीले माइतीपक्षलाई बोलाएका थिए । माइतीले मिलेर बस्न आग्रह गर्दै फर्केका थिए ।