
पूर्णपुष्टि, चैत्र ३ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले महिला उद्यम विकास समितिलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार संघको कार्यालयमा माघ १५ गते गठित महिला उद्यम विकास समितिलाई बधाई साथै सम्मान गरेको हो । उक्त समिति त्रियुगा उद्योग बाणिज्य संघ अन्तरगतै महिला सदस्यहरुको समिति रहेको छ । महिला व्यवसायी तथा उद्यमीहरुको उत्थानका लागि समिति निर्माण भएको संघका अध्यक्ष रमेश रसाईलीले बताए ।
उनले व्यवसायमा महिलाहरुको पहुँचमा हक अधिकार सुनिश्चित गर्न यस समतिको महत्वपूर्ण भुमिका रहेको समेत जनाए । गाईघाटमा रहेका महिला व्यवसायीहरुलाई थप उर्जाशिल बनाउन महिला उद्यम विकास समितिले भरपुर टेवा पुराउने भन्दै गठन गरिएको समिति देशभरनै उदाहरणीय बन्न अध्यक्ष रसाईलीको सुझाव छ । शशि लामा कार्कीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्माण भएको छ भने अन्य दुई जना थप गरी १५ सदस्यीय कार्यसमिति निर्माण गरिने छ । संघमा हाल सम्म ४ ओटा उपसमिति सहित र महिला उद्यम विकास समिति सहित ५ ओटा माताहत अन्तरगतका समितिहरु निर्माण भैसकेको छ । बधाई तथा सम्मान सँगै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष रत्न बहादुर श्रेष्ठ र हालको वर्तमान अध्यक्ष रमेश रसाईलीले प्रदान गरेका थिए ।

