Monday, June 16News That Matters

महोत्सवको उद्घाटन उल्लासमय बनेन

पूर्णपुष्टि/उदयपुर, फागुन १५ गते

-त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको उद्घाटन समारोह उल्लासमय बन्न सकेन । मंगलबारदेखि सुरु १० दिने पहिलो प्रदेश महोत्सवको उद्घाटन समारोह विगतको दाँजोमा आमन्त्रित अतिथि तथा दर्शकहरुको उपस्थिति न्यून भएपछि समारोह उल्लासमय बन्न नसकेको हो ।

विगतमा मञ्च अगाडीको भाग दर्शकले टनाटन भरिनेमा यसपटक सुन्य रह्यो । सांसद कला घले, केही राजनीतिक दलका नेता, केही कार्यालय प्रमुख, सुरक्षा प्रमुख मात्रको उपस्थिति थियो । कार्यक्रममा बोल्दै अतिथिहरुले महोत्सवको मर्म, उदेश्य अनुरुप सञ्चालन गरेर स्थानीयको मत जित्नुपर्ने बताए ।

अहिलेसम्मको महोत्सव उपलब्धीमुलक हुन नसक्नुले विवादित अवस्था देखिएको भन्दै त्यसलाई सच्याएर सही महोत्सव, सहि नेतृत्व कायम गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भनिएको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, विशेष अतिथि भनिएको त्रियुगा नगरपालिका मेयर बलदेव चौधरी, उपमेयर देवी चौधरी कार्य व्यस्तता देखाउदै अनुपस्थित रहे । अधिकांश संघसंस्था, नागरिक समाजका प्रतिनिधिहरुको पनि अनुपस्थिति थियो ।

प्रमुख अतिथिमा मुख्यमन्त्री राई नआएपछि संघकै केन्द्रिय पदका व्यक्तिहरु खोजिएको थियो, सो पनि नभएपछि संस्थापक अध्यक्ष कृष्ण श्रेष्ठ रहनुभयो । महोत्सवको स्टलहरु खाली नै रहे भने विभिन्न खेल तथा बालउद्यानहरु खाली नै रहेका थिए । महोत्सवमा स्थानीय उद्यम, उद्योग, उत्पादनको प्रवद्र्धन देखिएको छैन ।

हरेक वर्ष संघले महोत्सव आयोजना गर्दै आएको तर, त्यसले कुनै उपलब्धी नदेखाएको, सिमित व्यक्तिको कमाई खाने भाँडो मात्र बनेको, विद्यार्थीको परिक्षाको मुखमा आयोजना गरेर शैक्षिक वातावरण विगारेको, स्थानीय व्यापार, व्यवसायको प्रवद्र्धन भन्दा नोक्सानी भएको भन्दै महोत्सव विवादित बनेको हो । यसका साथै संस्थाभित्र आर्थिक घोटला र संस्था नविकरण नभएको विषय पनि चर्को बनेको छ ।

आयोजकले महोत्सवको चाम खल्लो देखेपछि बाल उद्यानका खेलहरु र टिकटमा चर्को शुल्क राखेर रकम उठाउने दाउमा रहेको बताइएको छ ।