Friday, February 7News That Matters

महोत्सवबाट दुई सर्बसाधारणको मोटरसाईकल चोरी, थप सुरक्षा चुनौती देखिदै

पूर्णपुष्टि/उदयपुर, फागुन १७ गते

सुरक्षा प्रमुखले सुरक्षा चुनौती नरहेकाले अबेरसम्म मेला चल्न दिएको भन्दै गर्दा सर्बसाधारणको दुईओटा मोटरसाईकल चोरी भएको छ ।

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले मंगलबारबाट आयोजना गरेको महोत्सव, प्रशासनले दिएको निर्देशन विपरित अबेरसम्म सञ्चालन हुँदा सर्बसाधारणको मोटरसाईकल चोरी भएको हो ।

बुधबार राती प्रहरी प्रमुखसहितको उपस्थितिको सुरक्षा र महाविर सेक्रेटरी कम्पनीका सुरक्षाकाबीच त्रियुगा नगरपालिका १६ का कमलबहादुर कटुवालको स २ प ५७३५ नम्बरको यामाहा कम्पनीको एफजेठ मोटरसाईकल र त्रियुगा नगरपालिका ३ मोतिगडाका प्रकासकुमार हमालको बा ३३ प २१४६ नम्बरको होण्डा कम्पनीको मोटरसाईकल चोरी भएको हो ।

राती खबेरसम्म प्रहरी प्रमुख एसपी नवराज भट्ट र सशस्त्र प्रहरी प्रमुख डिएसपी पुरन भट्ट रहेको महोत्सवस्थलबाट महोत्सव हेरेर फर्कन खोज्दा राखेको ठाउँमा मोटरसाईकल नभेटिएको पिडित कटुवालले बताउनुभयो । हराएको थाहा पाए लगत्तै प्रहरीलाई खबर गरेको र महोत्सव सकिन्जेलसम्म पर्खेर खोजी गर्दा पनि फेला नपरेपछि बिहिबार (आज) जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको पिडितहरुले बताए ।

सर्बसाधारणको मोटरसाईकल चोरी हुँदा पनि प्रहरीले खोजीमा चासो नदेखाएको पाइएको छ । हराएको थाहा पाएलगत्तै खबर गरेको पिडितले बताइरहदा भोलीपल्ट मध्यन्हको समयमा पनि नगर प्रहरी इन्चार्ज प्रहरी नायव निरिक्षक प्रदीप गौतम र जिल्ला प्रहरीको प्रवक्ता प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले प्रष्ट थाहा नभएको भन्दै पत्रकारलाई विस्तृत विवरण दिन आनाकानी गरे ।

स्थानीय प्रशासनले तोकेको महोत्सवको समय राती ८ : ३० बजेसम्म रहेपनि प्रहरीकै आडमा राती १० : ३० बजेसम्म सञ्चालन हुने गरेको छ ।

पिडितहरुले महोत्सव आयोजकको लापरवाही र कमजोर सुरक्षा व्यवस्थाका कारण मोटरसाईकल हराएको भन्दै फेला नपरेको खण्डमा आयोजकले क्षतीपूर्ती तिर्नुपर्ने बताएका छन् । आयोजक संघका उपाध्यक्ष रमेश विकले यसपटकको महोत्सवमा पार्किङ व्यवस्था नगरेको र शुल्क पनि नउठाएकाले हराएको मोटरसाईकलको क्षतीपूर्ती नदिइने गैरजिम्मेवार जवाफ दिएका छन् ।

तर, स्थानीय प्रशासनले आयोजकलाई अनुमति दिएको पत्रमा महोत्सव अवधिभर सर्बसाधारणको कुनै क्षती, हानी नोक्सानी, दुर्घटना भएमा सोको क्षतीपूर्ती स्वयम् आयोजकले व्यहोर्नुपर्ने कुरा प्रष्ट लेखेको छ । यसकारण पनि आयोजकबाट क्षतीपूर्ती दिलाउन प्रशासनको दायित्व हुन आउछ, अन्यथा नविकरनै नरहेको संस्थालाई अनुमति प्रदान गर्ने प्रशासनसमेत जिम्मेवार हुनुपर्ने कटुवालले बताउनुभयो ।

निमित्त प्रमुख जिल्ला अधिकारी कुमार खड्काले महोत्सवलाई मर्यादित र व्यवस्थित बनाउने तर्फ प्रशासन रहेको बताउनुभयो । महोत्सवमा अनुमति नदिइएका केही मदिरा जन्य स्टलहरु, मानिस तर्साउने भुतघर, जादु, सर्कस र जुवा जन्य भाग्य परिक्षा खेल रहेको जानकारी आएकाले तुरुन्त हटाउन प्रहरीलाई निर्देशन दिएको बताउनुभयो ।