पूर्णपुष्टि/उदयपुर, फागुन १९ गते
-स्थानीय प्रशासनको अनुमति विपरित राती अबेरसम्म गाईघाटमा सञ्चालन हुने महोत्सवमा कर्मचारीले समेत सरकारी सवारीसाधनको दुरुपयोग भएको पाइएको छ । महोत्सवको पाँचौं दिन शनिबार सरकारी मोटरसाईकलहरु महोत्सव स्थलमा फेला परेपछि दुरुपयोग गरेको पाइएको हो ।
स १ ब ७३८ र स १ ब ५९६ सरकारी नम्बर प्लेटका मोटरसाईकलहरु फेला परेको हो । एक त विदाको दिन, त्यसमा पनि कुवेलामा भेटिएका ती मोटरसाईकल कर्मचारीले मेला हेर्न जान दुरुपयोग गरेको स्थानीयले बताए । सेतो नम्बरप्लेटका ती मोटरसाईकल कुन कार्यालयको हो भन्ने नखुलेको भएपनि सम्बन्धीत निकायले पत्ता लगाई दुरुपयोग गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने देखिन्छ ।
महोत्सवमा खुलेआम मदिराजन्य विक्रीवितरण र सेवन रोकेको पाइएपनि प्रतिबन्धित जुवाजन्य खेल र मानिस डराउने भुतघर भने यथावत रहेका छन् । राती ८ः३० बजेसम्म मात्र महोत्सव गर्ने प्रशासनले दिएको अनुमतिलाई आयोजकले सुरुदेखि नै पालना नगरेको पाइएको छ ।