
गाईघाट-माओवादी केन्द्र उदयपुरले आगामी मंसिर २१ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेद्वारको सिफारिस गरेको छ । माओवादी केन्द्रको बिहिबार र शुक्रबार बसेको सचिवालयको बैठकले केन्द्र र प्रदेशका लागि उम्मेदवारका नाम सिफारिस गरेको हो ।
एक पदमा तीन/तीन जनाको नाम सिफारिस गरेको जनाएको छ । माओवादी स्रोतका अनुसार माओवादीका बरिष्ठ नेता राम कार्की संघ (केन्द्र) को उदयपुरको क्षेत्र नम्बर २ बाट चुनाव उठ्ने भएका छन । क्षेत्र नं. २ मा कार्कीको साथै मोहनबहादुर खत्री, केपी बरालकोसमेत नाम सिफारिस भएको छ । भने एक नम्बर क्षेत्रबाट सुरेशकुमार राई, मिनबहादुर ठकुरी र पुष्प बस्नेत सिफारिस भएका छन् ।
संघको प्रतिनिधि सभा निर्वाचनमा सिफारिस हुने राम कार्की पूर्व संचारमन्त्री हुन् । जिल्ला ईन्चार्जसमेत रहेका खत्री पहिलो संविधान सभामा उदयपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित र २०७० को चुनावमा पराजित बनेका थिए । नेता बराल स्थानीय निर्वाचनमा कटारी नगरपालिका प्रमुख पदमा पराजित भएका हुन् । शुरेस राई दोस्रो संविधान सभाको चुनावमा उदयपुर क्षेत्र नंम्बर २ बाट चुनावमा पराजित भएका थिए । माओवादी स्रोतले राम कार्की क्षेत्र २ बाट लड्ने पक्कापक्की नै भएको छ भने क्षेत्र नं १ बाट प्रतिष्पर्धा गर्ने राई रहेका छन् । मिनबहादुर ठकुरी र पुष्प बस्नेतको नाम पनि सिफारिस भने भएको छ ।
वेलका र चौदण्डी भुगोलको प्रदेशको निर्वाचन क्षेत्रमा गणेश थाम्सुहाङ, कुमार सिंह कार्की र राकेश किरातीको सिफारिस भएका छ । त्यसैगरी त्रियुगा नगरपालिका क्षेत्रको प्रदेश जीवनकुमार कार्की, रामबहादुर थापा मगर र बिमल किराती रहेका छन् । उता रौतामाई, उदयपुर गढी र सुनकोसी गाउपालिकासहितको प्रदेशमा नारायण बुर्जा, काजिमान तामाङ र एबीराज राई सिफरिसमा परेका छन् ।
त्यसैगरी कटारीनगरपालिका र ताप्ली गाउँपालिका भुगोल रहेको क्षेत्रमा जिल्ला संयोजक विनोद कटुवाल, हालका सभासद भेषकुमारी राउत र हेमराज दाहाल रहेका छन् । त्यसैगरी संघको समानुपातिक सांसदको लागि भिमबहादुर अधिकारी (अनिल), मणीखम्बु किराती र भिमबहादुर विक सिफारिसमा परेका छन । संघको उम्मेद्वारमा सिफारिस नामहरु पुरुष मात्र छने भने प्रदेशको चार वटा क्षेत्रमा हालका सांसद भेषकुमारी राउत एक्ली महिला उम्मेदवारको रुपमा सिफारिसमा परेकी छिन् ।
प्रदेशको समानुपातिक सुचिमा वेलका¬–चौदण्डी भुगोल मानेर राजन किराती, सम्झना तामाङ र दिलकुमारी मगर रहेका छन् । त्रियुगाको समानुपातिक उम्मेद्वारमा दोर्ण पौडेल, पृथ्वी विक र गंगाधर चौधरी रहेका छन । गाउँपालिका मात्र रहेको प्रदेश समानुपातिक उम्मेदवारमा सेतीमाया आले, झनक बिक, होम किराती छन् भने कटारी नगरपालिका सहितको प्रदेशमा भगवती खनाल, ढुङ्गराज विक, झण्डबहादुर राई र काजिलाल दनुवार सिफारिसमा परेका छन् ।
चुनावको तयारी स्वरुप पार्टीको दुईवटा कमाण्ड निर्माण गरि प्रचार प्रसारमा जाने भएको छ । जसमा सुरेश कुमार राई (हिमाल) ले पूर्वी कमाण्ड र मोहनबहादुर खत्रीले पश्चिमी कमाण्ड सम्हाल्ने भएका छन । त्यसैगरी प्रदेश क्षेत्र स्तरीय प्रचार प्रसार समिति गठन गरि चुनावमा लाग्ने निर्णय गरेको
जनाएको छ । साथै केन्द्र र प्रदेशको चुनावमा तालमेल गर्नको लागि सुरेश कुमार राईको संयोजत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको जनाईएको छ ।