
पूर्णपुष्टि, फागुन २ । त्रियुगा नगरपालिकामा ३० औँ जनयुद्ध दिवसको अवसरमा माओवादी मजदुर पार्टीले एक काष्ठको फलैचा निर्माण गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ३ स्थित त्रियुगा पुल नजिकै रहेको पिपलको फेदमा पार्टीले फलैचा निर्माण गरी कोण सभाको गरेको हो ।
कार्यक्रममा पार्टीका महासचिव हिमाल सिंह राईले जनयुद्धको स्मरणमा फलैचा निर्माण गरिएको बताए । पार्टी प्रवक्ता जगत काटुवालले ३० औँ जनयुद्ध दिवसलाई नेपाली जनताको परिवर्तनको एक महत्वपूर्ण शैक्षिक क्षणको रूपमा लिनुपर्ने धारणा राखे ।
संगठन प्रमुख प्रदिप फुयालले पार्टीको स्थापनाकालदेखि नै जनयुद्ध दिवस मनाउँदै आएको जानकारी दिए । कार्यक्रममा ‘हाम्रो क्रान्ति जारी छ’, ‘माओवादी मजदुर पार्टी जिन्दावाद’, ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद’, ‘३० औँ जनयुद्ध जिन्दावाद’ जस्ता नाराहरू लगाइएको थियो । कार्यक्रममा ज्ञानबहादुर तामाङ र झमकबहादुर मगर लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।