
पूर्णपुष्टि, माघ १६ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा सामुदायिक वन क्षेत्रभित्र रहेको व्यावसायिक माछा फार्मबाट १५ लाख रुपैयाँ बराबरको माछा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१ जोगिदहस्थित मैनाहा केन्द्रीय टोलका ५६ बर्षीया कलावती चौधरी, ५० बर्षीय राम किसुन चौधरी र नवज्योति टोलका ४० बर्षीय शिव शंकर चौधरी रहेका छन् । उनीहरूले जागृति सामुदायिक वन क्षेत्रमा रहेको ‘कृषी चाम्लिङ फर्म’ का तीनवटा पोखरीबाट गत पुष २८ गते दिउँसो १ बजे माछा चोरी गरेको पीडित लिल बहादुर राईले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।
पीडित राईका अनुसार चोरी भएका माछाहरूमा कोमल, विकेट, रौ, ग्रासकार र भाकुर जातका छन्, जसको प्रति गोटा तौल ४ केजीसम्म रहेको र कुल मूल्य १५ लाख रुपैयाँ बराबर रहेको छ । उजुरीमा उल्लेख भए अनुसार घटनामा संलग्न अन्य ८–९ जना फरार रहेका छन् । पीडितका अनुसार यस घटनाबारे पटक–पटक छलफल गर्न खोज्दा आरोपीहरूले उल्टै धम्की दिने गरेका थिए । प्रहरीले अनुसन्धान जारी राखेको र फरार अभियुक्तहरूको खोजी भइरहेको जनाएको छ ।