
पूर्णपुष्टि, चैत २९
रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले आगामी पुसदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।
आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल तर्फको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । उपकरण जडानका लागि चिनियाँ कामदार तत्काल आए आगामी दशैं अगाडि नै परीक्षण उत्पादन सुरु गरिने जनाएको छ ।
१४.८ मेगावाट क्षमताको आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ ७० र हाइड्रोमेकानिकलतर्फ ८५ प्रतिशत काम सम्पन्न भएको छ । आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको आयोजनाको २०६८ असोज २३ गते पीपीए भएको थियो ।
आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको छ ।
