
पूर्णपुष्टि, फागुन २१
मानाव बेचविखनमा संलग्न फरार अभियुक्त १४ बर्ष पछि प्रहरी फन्दामा परेको छ । बाराको साविक नरही गाविस–९ बेलाही टोल बस्ने जगदिश दासलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो । दासलाई शुक्रबार बिहान करैयामाई गाउँपालिका–८ बाट पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
गौतमका अनुसार ०६३ मंसिर २१ गते साँझ ७ बजे काठमाडौंबाट आएको बा २ ख ६४१ नम्बरको बसलाई करैया पुलमा दास सहित ४ जना व्यक्तिहरुले कटुवा बन्दुक देखाई रोकेका थिए । उनीहरुले बसका धनी खोटाङको साविक दिक्तेल गाविस–२ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ बस्ने ताराकुमार खत्रीलाई नियन्त्रणमा लिएर नगद, मोबाइल र घडी लुटपाट गरेका थिए । खत्रीलाई दासको घरमा बन्धक बनाइ उनीहरुले फिरौती मागेका थिए । फिरौती रकम नदिए भारतमा लगेर बेच्ने धम्की दिएको भन्दै दाससहित ४ जनाविरुद्ध खत्रीले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए ।
उनीविरुद्ध मानव बेचबिखन तथा ओसार(नियन्त्रण) ऐन, २०६४ अन्तर्गत बारा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान सुरु गरिसकिएको उनको भनाइ छ । मुख्य अभियुक्त दास पक्राउ परेपनि अन्य तीन जना भने फरार छन् ।
