
पूर्णपुष्टि/उदयपुर, चैत ४ गते
-जिल्ला अस्पताल उदयपुरभित्रको डाक्टर तथा कर्मचारीको चरम लारवाहीको विरुद्धमा आईतबार विरामीहरुले आक्रोस पोखेका छन् । सयौंको संख्यामा रहेका उनीहरुले सामान्य चेकजाँच र सिटामोलसमेत नपाएको भन्दै आक्रोस पोखेका हुन् । उनीहरुले ओपिडी र अस्पताल प्रशासन मात्र घेराउ गरेनन् त्रियुगा नगरपालिकासमेत घेराउ गर्न पुगे ।
अस्पतालका डाक्टरहरु र अस्पताल प्रशासनको लापरवाहीका कारण इमरजेन्सिी सेवा बाहेकका सेवाहरु सबै प्रभावित छन् । स्थानीय सर्बसाधारणले कयौं पटक गुनासाहरु राखेपनि अस्पताल प्रशासन र सरोकारवाला निकायहरु छलफल, बैंठकमा मात्र सिमित छन् । अस्पतालको सहि व्यवस्थापन र कार्यन्वयन हुन नसक्दा विरामीले दुःख र झन्जट मात्र पाइरहेका छन् ।
अस्पतालको सेवामा कर्मचारी र चिकित्सक सबैको मनोमानी चलिरहेको छ । अस्पताल मियोविनाको दाइ जस्तै बनेको छ । गर्नेले काम गरेका छन् नगर्नेलाई कसैले अनुगमन र निगरानी गर्न सकेको अवस्था छैन । विरामीको टिकटसमेत लापरवाहीपूर्ण ढंगले काट्ने गरिएको छ । डाक्टर काममा खट्ने नखट्ने बारे ठेगान नहुने, कुन विरामीको टिकट काट्ने नकाट्ने जस्ता कुराको कुनै ठेगान नहुनाले विरामीले अनावश्यक दुःख, झन्जट पाईरहेका छन् ।
लामो समयदेखि सेवा सुविधाबाट बन्चित हुनुपरेको भन्दै डाक्टरहरुले ४० जनाभन्दा बढि विरामी नहेर्ने र अल्ट्रासाउड सेवा बन्द भन्दै प्रशासनलाई लिखितरुपमै बुझाएका छन् । आईतबार दुईसय बढि विरामीहरुको उपस्थितिरहेपनि एकजनामात्र डाक्टर संगिता खड्का ओपिडिमा खटिनु भएको पाइयो । अन्य डाक्टरहरु ओपीडिमा खटिएको भेटिएनन् । डा. अमिताव ठाकुर र विजय मेहता विदामा रहेको र निमित्त सुपरिटेन्डेन्ट विसालकुमार देव अस्पतालकै कामले काठमाडौं रहेको बताइएको छ । धेरैजसो विरामीहरुले टिकट समेत काट्न पाएनन् । टिकट काटेकाले उपचारसमेत नपाउदा आक्रोसित बनेका थिए ।
एघारौं तहसम्मको दरबन्दी रहेको सो अस्पतालमा नवौंतहसम्म कुनै चिकित्सक छैनन् । अस्पतालको दरबन्दी अनुसार नौं जना विशेषज्ञ डाक्टर हुनुपर्नेमा एकजना पनि छैन । त्यहाँका डाक्टरहरुले लामो समयदेखि सेवा सुविधाबाट बञ्चित बन्नु परेको बताएका छन् । डिउटी बाहेकका समयमा काम गरेवापत सेवा सुविधाको माग गरिरहेका उनीहरुले काम गर्ने उचित वातावरण नरहेको गुनासो गरेका छन् ।
अस्पतालमा डाक्टर अन्य चिकित्सक तथा कर्मचारीलाई सहिढंगले काम लगाउन नसकेको अस्पताल प्रशासनको भूमिका फितलो देखिन्छ । अस्पताल प्रशासनले समस्याको बारेमा सम्बन्धीत निकायहरुमा जानकारी गराउने, परिपत्र गर्नेदेखि लिएर छलफल, वैंठक गर्ने गरेपनि ठोस निर्णय र कार्यन्वयन भएको छैन । अस्पताल प्रशासन सुब्बाको भरमा चल्नुपर्दा कतिपय निती निर्देशनमा समस्या पर्ने गरेको छ । अस्पताल प्रशासनतर्फको आप्mनै गुनासाहरु छन् ।
अस्पताल विकास समिति नाम मात्रको भएको छ । समितिका अध्यक्ष राकेश खत्रीले व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न सकेको देखिदैन । पछिल्लो समय अस्पतालको समस्या हलका लागि भूमिका जिरो छ । अस्पताल प्रशासनले जिल्लाको तालुक अड्डा जिल्ला प्रशासनलाई पटक पटक गुहारेको जनाएको छ, तर त्यहाँबाटको पहल कदमी प्रभावकारी देखिएको छैन ।
नगरपालिकाको भूमिका पनि चित्त बुभ्mदो देखिएको छैन । स्थानीय सरकारको मातहतमा हस्पिटल रहने भनिएपनि व्यवस्थापन, उपचार सेवा र प्रशासन चुस्तदुरुस्त राख्न सकेको छैन । मेयर, उपमेयर, वडाध्यक्षहरु लगायतका जनप्रतिनिधिहरु जनताको स्वास्थ्य सेवाप्रति गम्भिर नभएको आरोप सर्बसाधारणको छ ।
अस्पताल प्रशासनले समस्याको हल हुन नसक्नुमा त्रियुगा नगरपालिका देखाउछ भने नगरपालिकाले अस्पताल प्रशासनको भूमिका कमजोर देखाउने गरेको छ । समग्रमा यतिबेला, जिल्ला अस्पताल, त्यहाँका चिकित्सक, कर्मचारी, व्यवस्थान समिति र सरोकारवाला सम्बन्धीत निकायको वेवास्ताको सिकार बनेको छ । जसले गर्दा निरिह विरामी, सर्बसाधारणहरु स्वास्थ्य सेवाबाट बञ्चित बनिरहेका छन् ।
त्रियुगा नगरपालिकाको उपमेयर देवी चौधरीले विरामीहरुले उपचार नपाएकोप्रति गम्भिर रहेको बताउनुभयो । अस्पतालका डाक्टर तथा कर्मचारीसंग छलफलसमेत बसेको उपमेयर चौधरीले डाक्टरहरुको मागलाई सम्बोधन गर्न नगरपालिका तत्पर रहेको जानकारी दिइ निरन्तर सेवामा खटिन अनुरोध गरिएको बताउनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सेवा सुविधाको हकमा स्थानीय सरकारले यसअघि नै प्रतिबद्धता जनाइसकेकोले आन्दोलन गर्न कुनै जरुरी नरहेकाले डाकटरहरु तत्काल आ आफ्नो काममा लाग्न र अस्पताल प्रशासनले व्यवस्थापन मिलाउन निर्देशित गरेको बताउनुभयो ।