
पूर्णपुष्टि, पुष १६ । सिद्धिचरण राजमार्गको मिर्चैया-कटारी-घुर्मी सडक खण्डको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । सडक विभागले तयार पारेको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको र यसै साताभित्र पारित गर्ने तयारी भइरहेको प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले जानकारी दिए ।
प्रतिवेदन अनुसार ९ अर्ब ४७ करोड लागत अनुमान गरिएको यो आयोजना ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ७२ किलोमिटर लामो यस सडक खण्डको स्तरोन्नतिबाट मिर्चैया नगरपालिकाका २ वटा र कटारी नगरपालिकाका ७ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् ।
तीन दशकअघि निर्माण भएको यो सडक जीर्ण अवस्थामा पुगेकाले दैनिक पाँच सयभन्दा बढी सवारी साधनले समस्या भोग्दै आएका छन् । प्रतिवेदनमा सहरी क्षेत्रमा १३ मिटर, पहाडी क्षेत्रमा ८.५ मिटर र तराईमा १० मिटर चौडा बनाउने योजना छ । आयोजना अन्तर्गत ३ ठूला पुल, ७ साना पुल, २८९ पाइप कल्भर्ट, ८ बक्स कल्भर्ट, २६ स्ल्याब कल्भर्ट र ५ कजवे निर्माण गरिने छ । चालु आर्थिक वर्षमा केन्द्र सरकारले एक अर्ब पाँच करोड बजेट विनियोजन गरेको यस सडकका लागि बहुवर्षीय ठेक्का लगाउन पहल भइरहेको छ । ओखलढुंगा, सोलुखुम्बु र खोटाङलाई तराईसँग जोड्ने यो सबैभन्दा छोटो मार्ग हो ।