Saturday, April 26News That Matters

मुकुम्लुङमा सरकारले दमन गर्‍यो : प्रचण्ड

पूर्णपुष्टि, माघ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुकुम्लुङ-पाथिभरा क्षेत्रमा सरकारले स्थानीय जनतामाथि वार्ताको बाटो छाडेर दमन गरेको आरोप लगाएका छन् । बिहीबार संसदमा बोल्दै प्रचण्डले त्यस क्षेत्रको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीको माध्यमबाट समाधान खोज्नुपर्नेमा सरकारले सिधै बल प्रयोग गरेको बताए ।

“पाथिभरा र मुकुम्लुङको प्रश्न पनि छ । त्यो विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गर्नुभयो । त्यहाँको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको बाटो रोज्ने प्रयास गरियो,” प्रचण्डले भने । उनले यस्तो दमनात्मक कार्यको गम्भीर प्रतिवाद गर्ने चेतावनी दिए । मुकुम्लुङ-पाथिभरा क्षेत्रमा केही समययता स्थानीय र सरकारबीच विवाद चल्दै आएको छ । तर सरकारले वार्ता र संवादको बाटो रोज्नुको साटो बल प्रयोग गरेर समस्या समाधान गर्न खोजेको प्रचण्डको आरोप छ ।