
पूर्णपुष्टि, कात्तिक १३ गते ।
उदयपुर–सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डको लेखानीमा भएको सुमो जीप दुर्घटनाका मृतकको संख्या ९ पुगेको छ । एक चारबर्षिया बालिकासहित दुईजना गम्भिर घाइते छन् ।
कटारीदेखि ओखलढुंगातर्फ जादै गरेकोको ना १ ज ३४०४ नम्बरको टाटासुमो उदयपुरको कटारी नगरपालिका – ११ लेखानी गाउँको ठाटी भन्ने ठाउँमा दुर्घटना भएको हो ।
टिकट काउन्टरबाट प्राप्त जानकारी अनुसार सुमोमा सवार रहेकाहरुमा सन्देश किराती इश्वर भटटराई, मिथिलेसकुमार साह, राजेन्द्र बर्मा, दिपक शिवाकोटी, अन्जना राई, चालक हरि कार्की लगायत ११ जना सवार थिए । मृतक चालक कार्कीको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको थियो । घाइते अन्जना राईलाई कटारी अस्पतालबाट रेफर गरी उपचारार्थ विराटनगर लगिएको छ ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटारीका इन्चार्ज डिएसपी महेन्द्र श्रेष्ठका अनुसार दुर्घटनास्थल अप्ठ्यारो भिरालो रहेकोले उद्धार कार्यमा ढिलाई भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु राती अबेरसम्म उद्धारमा खटिएका कटारी ट्राफिक इन्चार्ज डिवि दियालीले बताउनुभयो ।
नाजुक अवस्था रहेको उक्त राजमार्गमा सडक भिरालो र साँघुरो रहेको ठाउँमा दुर्घटना भएको स्थानीयले बताए । सुमो सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको जनाइएको छ ।