Saturday, April 26News That Matters

मेयर साम्पाङ्गको अख्तियारलाई जवाफ: “एनसेल र वाइडबडी तिर नलागेर श्रमदानको खेदो नखन्नुस्”

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी योजनामा आर्थिक अनियमितता भएको भन्ने उजुरीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीलाई आक्रामक शैलीमा जवाफ पठाएका छन् । मेयर साम्पाङले आफूविरुद्ध परेको उजुरीको सन्दर्भमा मेलम्ची, दमक टावर, एनसेल र वाइडबडी घोटालाजस्ता कुरातिर नलागेर श्रमदानको खेदो नखन्न आग्रह गरेका छन् ।

यसअघि अख्तियारले उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा सोधपुछका लागि पत्राचार गरेको थियो । मेयर साम्पाङले गत माघ ११ गते नै यस विषयमा जवाफ दिएको र पुनः पढ्नका लागि स्पष्टीकरण पठाइएको बताएका छन् ।

आफ्नो स्पष्टीकरण पत्रमा साम्पाङले धरान खानेपानी बोर्ड स्वायत्त निकाय भएको उल्लेख गर्दै नगरवासीहरुलाई सुलभ र अटुट रुपमा खानेपानी वितरण गर्नु यसको एक मात्र उद्देश्य रहेको जनाएका छन् । उनले दैनिक जीवनमा पानीको महत्त्व विस्तृत रुपमा व्याख्या गरेका छन् ।

“बिहान उठ्ने बित्तिकै ट्वाइलेट जानुपर्छ । ट्वाइलेटमा पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला । केहीछिन पछि भात पकाउनु पर्‍यो । भात पकाउन पानी चाहिन्छ । भात खाए पछि हातमुख धुनु पर्‍यो, त्यसको लागि पनि पानी चाहिन्छ,” स्पष्टीकरण पत्रमा उनले लेखेका छन् ।

साम्पाङले थप लेखेका छन्, “जुठो भाँडा धुनै पर्‍यो, त्यसको लागि पनि पानी नै चाहिन्छ । फोहोर लुगा धुन पनि पानी नभै नहुने । स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनु पर्छ र दैनिक नुहाउनु पर्छ । नुहाउनलाई पनि पानी चाहियो। करेसावारी र बगैँचातिर पनि पानी चाहिने नै भयो ।”

मेयरले जवाफमा सुँगुर, कुखुरा र चौपायालाई समेत पानी चाहिने भएकाले धरानबासीको जीवन बचाउनका लागि जसरी भए पनि काम गर्नु परेको बताएका छन् । उनले केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिन भनेर वर्षौँ बिन्ती गर्दा पनि नसुनेपछि गाग्री लिएर आफू सिंहदरबार पुगेको उल्लेख गरेका छन् ।

“जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन, पानी चाहिएको छ के । त्यसैले हामीले श्रमदान गर्नु परेको हो, खोइ कुरा बुझ्या?” उनले पत्रमा लेखेका छन् ।

केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याउने सम्भावना नभएपछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरुको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलाएको उनले बताएका छन् । स्पष्टीकरणको अन्त्यमा साम्पाङले अख्तियारलाई मुहानबाट धरानसम्म हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न आउन अनुरोध गरेका छन् । साथै पानीमा राजनीति गर्न नहुने बताउँदै अन्यथा जनता पानी माग्न अख्तियारमा आउने चेतावनी समेत दिएका छन् ।