
यसपालीको तीज पनि दैलो नीर आयो आमा,
तिम्रो हातको खिर पुरीको झल्को फेरि आयो आमा
जिम्मेवारी, परिस्थिति, विधि कति-कति,
मेलापात, बालबच्चा स्याहार्दै ठिक्क भएँ आमा
पोहोर पनि तीज आयो, आउन पाइनँ मेरी आमा,
मनभरिको रहर बोकी पनि फर्किन पाइनँ आमा
सोचेँ यसपाली त आउँछु, तिम्रो आँगन टेक्छु,
तर समयले फेरि उही बाटो छेकिदियो आमा
यसपाली नि आइसकेछ, थाहै पाइनँ मेरी आमा,
दिनहरू कसरी बिते, पत्तै पाइनँ आमा
जताततै, चोक चौतारी सबैतिर घन्केका छन् तीजका गीत,
बाध्यता र विवशता मेरो फेरि पनि उस्तै आमा
अरूका माइतीका आँगनमा हाँसो गुञ्जिँदा,
मेरो मन भने तिम्रै आँगन खोजिरहन्छ आमा
रात पर्दा सिरानीमा आँसु लुकाउँदै सोच्छु,
कहिले आउला त्यो दिन, तिम्रो काखमा बस्न पाउँला आमा
आँखा मिचीमिची कन बाटो कुर्दै हौली मेरी आमा,
छोरी आउँछे भन्दै कथन गर्दै हौली मेरी आमा
नाति सानो स्कुल जान्छ, गाई–गोठमा भोकै बाख्रा,
आइन छोरी भन्दै फेरि रुँदै हौली मेरी आमा
तिम्रा हातका ती मिठा परिकार सम्झिन्छु आमा,
तिम्रो काखको न्यानोपन झन् धेरै सम्झिन्छु आमा
तीज त हरेक वर्ष आउँछ, जान्छ पनि,
तर माइतीको माया र आमाको प्रतीक्षा कहाँ फेरिन्छ र आमा
फेरि तीज आयो आयो आमा
छोरीको पाइला तिम्रो आँगनमा पुग्न सकेन आमा
मनले हजारपटक घर पुगेर तिम्रो हात समाते पनि,
बिबसताको ठुलो पर्खालले पुन छेक्यो आमा
