Monday, June 29News That Matters

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भिर घाईते

काठमाण्डौँ, जेष्ठ २७
बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा मोटरसाइलकको पछाडि सवार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–३ बस्ने २६ वर्षीय सूर्यकुमार मिस्त्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक सोही गाउँठाउँ बस्ने २५ वर्षीय निरज मिस्त्री गम्भीर घाइते भएका छन् ।

गए राति दुवै जना सवार भएर सिन्धुलीबाट सर्लाहीको लागि आउँदै गरेको ना५४प ८९५४ नम्बरको मोटरसाइकल बर्दिबास नपा–३ स्थित भोगटे पुलमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सूर्यको मृत्यु भएको छ भने निरज गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैलाई प्रहरीले उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालमा ल्याएकोमा सूर्यको उपचारको क्रममा मृत्यु भएको थियो । गम्भीर घाइते निरजको उपचार अझै पनि सोही अस्पतालमा भइरहेको छ भने सूर्यको शव पनि सोही अस्पतालमा रहेको जनाइएको छ । (रासस)