
पूर्णपुुष्टि/उदयपुर, माघ २३ गते
-आजभन्दा २५ वर्षअगाडि खोटाङको विकट ठाउँ राजापानीमा एक सामान्य परिवारमा जन्मिएका चित्रकुमार कार्कीको संघर्षको कथा निकै रोचक छ । अनि विशेष पनि छ ।
नुन, चामल बोक्न मधेस (मुर्कुची) झरेको बेला मोटरदेखेका उनले विश्व उल्टोमोटरसाईकल यात्री बन्छु भन्ने कल्पनासम्म गरेका थिएनन् । मोटर देख्ने वित्तिकै भागीभागी हिडेका उनले गाडीलाई माउ र मोटरसाईकललाई बच्चा ठानेका थिए त्यतिबेला ।
उनले काका रविन्द्र कार्कीको मोटरसाईकलबाट अलिअलि गर्दै कुदाउन सिकेका थिए र पछि एक्कासी केही नयाँ गर्ने सोचले उल्टो कुदाउने प्रयास थाले । सुरुमा गाह्रै महसुस गरेका उनले प्रयासलाई निरन्तरता दिएपछि एकाएक गर्नसक्छु भन्ने शाहस बटुलेका थिए । सुरुसुरुमा गाईघाटको हाटबजार अनि स्थानीय स्कूलहरुमा उल्टो कुदाएर देखाए ।
ओहो, कस्तो अनौठो भन्दै प्रशंसा पाएपछि अझ प्रेरित हुदै सन् २०११ मा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको उल्टो मोटरसाईकल यात्रा गर्न सफल भएका थिए । त्यसपछिका अवस्थामा मेला, महोत्सवदेखि विभिन्न कार्यक्रमहरुमा विशेष प्रतिभा प्रस्तुतीको रुपमा उल्टो मोटरसाईकल कुदाउने अवसर मिल्यो । त्यो संगै थुप्रै मान, सम्मान, पुरस्कार पाउन सफल भए । यसबाट उनलाई पूर्णरुपले आफु विश्व उल्टो मोटरसाईकल यात्रा गर्नसक्ने आँट, सहासका साथै आत्मविश्वास मिलेको छ ।
हो, तिनै उनको आँट, शहास र प्रतिभाको उच्च कदर गर्दै उनलाई २०७४ माघ २१ गते आईएमसी ग्रुपले अमेरिकन कम्पनीको तर्फबाट मोटरसाईकल उपहार प्रदान भएको छ । कम्पनीले बजार मूल्य चार लाख बढीको २३० सीसी यूएमडिएसआर मोटरसाईकल प्रदान गरेको हो ।
झण्डै एकदशकअघि उदयपुरको गाईघाटमा बसाई झरेका कार्कीको अवको योजना उल्टो मोटरसाइकल कुदाएर विश्व किर्तिमानी राख्ने हो । उनको महान् लक्ष पुरा होस्, शुभकामना ।
भिडियो