यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ

मलाई तिमीले
यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ
जस्तो कि
तिमीलाई बाडुली लागेको बेलामा
मलाई सम्झिदिए हुन्थ्यो
जस्तो लाग्छ
धेरै मान्छे भेला भएको ठाउँमा
तिम्रो आँखाले मलाई खोजीदिए हुन्थ्यो
जस्तो लाग्छ
तिमीसँग छुटेर कतै टाढा जाँदै गर्दा
राम्ररी जानु,
आफ्नो ख्याल गर्नु
पुगरे फोन गर्नु है भनिदिए हुन्थ्यो
जस्तो लाग्छ
तिमीलाई दुःख लागेको बेलामा
मेरो काँधमा शिर अड्याएर
सबै पीर भनिदिए हुन्थ्यो
जस्तो लाग्छ
यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ
जस्तो कि
म कतै टाढाबाट आउने दिन
तिम्रो ओठमा दिनभरी मुस्कान होस्
अनि तिम्रो मुखबाट
तिमीले थाहै नपाई
तिमीलाई मनपर्ने गीत गुन्जी रहोस्
यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ
जस्तो कि
छिनछिनका कुरा
उठ्ने होईन
नुहाउने होईन
चिया खाने होईन
खाना खाने होईन
अफिस जाने होईन
यो सब तिमीलाई सोधिरहन मन लागोस्
जस्तो कि
सानो सानो कुरा,
मोबाईलको चार्ज सकियो
म चार्ज गर्छु है,
हाम्रो बाबुले यसो भन्यो
मलाई त कम्ता हाँस उठेन
पल्लो घरको दिदी हाँसी रहनु भाछ
उसको नि बुढो आउँदै छ रे
यो सब तिमीलाई सुनाईरहन मन लागोस्
यति गरिदिए हुन्थ्यो जस्तो लाग्छ

             गोठकृष्ण ठकुरी,
            मोतिगडा, उदयपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0