Saturday, May 23News That Matters

यसवर्ष बाढी, पहिरोमा परि २६२ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ २१

यस वर्ष नेपालमा मनसुन सुरु भएपछि बाढी, पहिरो र ढुवानमा परि दुई सय ६२ जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुरु भएपछि भदौ १८ गतेसम्म बाढी र पहिरोमा परी दुई ६२ जनाको मृत्यु भएको हो ।
सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५५ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकले देखाएको छ । पहिरोले  तीन करोड ६४ लाख ६२ हजार पाँच सय रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । सबैभन्दा धेरै भौतिक क्षति  ताप्लेजुङमा भएको तथ्याङ्कले देखाएको छ ।

यसैगरी आर्थिकरुपमा बढी क्षति व्यहोर्ने जिल्लाको सूचीमा मोरङलाई गृहमन्त्रालयले पहिलो नम्बरमा राखेको छ ।

गत जेठ ३० गते भित्रिएको यो वर्षको मनसुन अहिले कमजोर हुदै नेपालबाट मनसुन बाहिरिने क्रममा रहेको छ ।

नेपालमा मनसुन भित्रिने औसत मिति १० जून हो भने बाहिरिने मिति २३ सेप्टेम्बर हो । तर, कहिलेकाहिँ दुई–चार दिन ढिला हुन सक्ने मौसमविद बताउँछन् ।
२३ सेप्टेम्बर (असोज ७ गते) आउन अझै १६ दिन बाँकी रहेकाले यस वर्षको मनसुन कहिले बाहिरिन्छ भनेर एकिनका साथ मौसमविदले भन्न सकेका छैनन् ।

अहिले मनसुन कमजोर हुँदै गएको मौसम विद्हरु बताउँछन् । तर मनसुन कहिले बाहिरिन्छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था भने नरहेको जनाईएको छ ।

मनसुन पूर्वी नेपालबाट भित्रिएर पश्चिम नेपालबाट बाहिरिन्छ । मनसुन बाहिरिन पूर्वी वायु (मनसुनी वायु) लाई पश्चिमी वायुले विस्थापित गर्नुपर्छ । सामान्य हिसाबमा मनसुन बाहिरिन जाडो सुरु हुनुपर्छ ।

जाडोको वायु पश्चिमबाट चल्छ । जाडोको वायुका साथै मनसुनका अरु धेरै प्रणालीहरु पनि छन् । त्यो सबै बाहिरिँदै जानुपर्छ । स्थानीय वायुको प्रभाव, पश्चिमी वायुको प्रभाव, वायुमण्डलको अवस्था सबै हेरेर यो वर्षको मनसुन बाहिरिएको एकिन गर्न सकिने जनाईएको छ ।

मनसुन नभित्रिँदै नेपालमा औसत वर्षा हुने प्रक्षेपण गरेको थियो । चार महिनाको मनसुन अवधिमा नियमित वर्षा जति हुनुपर्ने हो त्यति नै भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कतिपय ठाउँमा औसतभन्दा बढी पनि वर्षा भएको रेकर्ड जनाएको छ ।