
पूर्णपुष्टि, बैशाख ४ गते ।
त्रियुगा नगरपालिका–६ लालपत्तामा नगर र मिर्मिरे यवा क्लबद्धारा यात्री सहायता केन्द्र संचालन भएको छ । लकडाउनको समयमा पैदलयात्रीको चाप बढ्न थालेपछि उच्च सर्तकता अपनाउदै पैदलयात्रीलाई व्यावस्थापन गर्नका लागी यात्री सहायता केन्द्र संचालन भएको हो ।
विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको संक्रमित नेपालमा फेला परेपछि सरकारले देश लकडाउन गरेको छ । लकडाउनको समयमा पैदल हिडेर उदयपुर भित्रनेको संख्या दिनदिनै बढ्न थालेपछि त्यसको व्यावस्थापन गर्नका लागी केन्द्र संचालन गरेको क्लवका सल्लाहकार तथा आर्थीक व्यावस्थापन संयोजक प्रवेश खड्काले बताए ।
सामाजिक सुरक्षा कायम गर्दै हिडेर आएका यात्रुलाई एक रात सुत्न, खान र नुहान र स्वास्थ्य चेकजाँचको व्यावस्था गरीएको छ । केन्द्र संचालनमा लाग्ने खर्च नगर व्यावस्थ गरेको छ । लालपत्ताबाट मोतिगडासम्मको लागी नगरले नै सवारी साधनको व्यावस्था गरेको खड्काले बताए ।
काठमाण्डौ, लम्जुङ लगायत देशका विभिन्न ठाउँबाट हिडेर आएका १७ जना यात्रुलाई विहिबार लालपत्ताबाट गाईघाट लगिएको खड्काले बताए । उनीहरुको जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य परिक्षण गरी सम्बन्धित पालिकालाई जिम्मा लगाएको उनले बताए ।
