Tuesday, January 14News That Matters

युरोपको बिभिन्न देश पठाउने भन्दै २ करोड ५८ लाख लिएर फरार

पूर्णपुष्टि, ८ असार ।
यूरोपमा रोजगारीका लागि पठाई दिने भन्दै करोडौं असुल गर्दै एक समूह फरार भएको छ । नयाँ बानेश्वरमा एक कन्सल्टेन्सी खोलेर रोमानिया, माल्टा, पोर्चुगल, पाराग्वे, सर्बिया लगायतका देशमा रोजगारीका लागि पठाई दिने भन्दै २ करोड ५८ लाख भन्दा बढी ठगी गरेर गिरोह फरार भएको हो ।

बानेश्वरमा एक घर भाडामा लिएर कनेक्टियर बर्ड कन्सल्टेन्सी खोलेका अजित तामाङ, सागर कुमाल लगायतका व्यक्तिहरू फरार भएका हुन् । उनीहरूकै समूहकी कमलादेवी सुवेदी भने यतिबेला पुपक्र्षका लागि थुनामा छिन् ।

वैदेशिक रोजगार विभागको पत्रको आधारमा प्रहरीले उनीहरूविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ । तर, प्रहरीले उनीहरूलाई पक्राउ गर्न सक्रियता नदेखाएको पीडितहरूको गुनासो छ ।

पीडितहरूले उक्त कन्सल्टेन्सीले रोमानिया पठाई दिने भन्दै साढे ५ लाख रूपैयाँ मागेको थियो । त्यसमध्ये साढे तीन लाख रूपैयाँ उनीहरुले दिएका थिए । त्यसरी ठगिनेमा काभ्रेको एउटै परिवारका आमा, छोरी–ज्वाई, मामा लगायतका परेका छन् ।

त्यस्तै, विभिन्न जिल्लाका ९५ जनासँग रोमानिया, पोर्चुगल, माल्टा लगायतका देशमा पठाईदिने भन्दै ५ लाखदेखि १५ लाख रूपैयाँ मागेको पाइएको हो ।

आफू ठगिएको थाहा पाएपछि उनीहरूले विभागमा उजुरी दिएका थिए । उजुरीको आधारमा विभागले प्रहरीमार्फत् कमलादेवीलाई पक्राउ गरेको थियो । वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंका सदस्यद्वय प्रेमकुमार राई र उद्धवप्रसाद पुडासैनीको इजलासले उनीहरूलाई कसुरदार ठहर गरेको थियो ।

‘वैदेशिक रोजगारका लागि युरोपका विभिन्न देशमा पठाउँछु भनी झुट्टा आश्वासन दिई प्रलोभन देखाई जाहेरवालाहरूबाट रकम बुझी लिएको र वैदेशिक रोजगारीमा नपठाएको र लिएको रकमसमेत फिर्ता नगरेकोले प्रतिवादीहरू रन्जना राई, सबु श्रेष्ठ र कलादेवी सुवेदीको उक्त कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसूर देखिँदा निजलाई सोही दफा ४३ बमोजिम सजाय हुन र जाहेरवालाहरूबाट बुझिलिएको जम्मा विगो रकम २ करोड ५८ लाख १० हजार र सोको ५० प्रतिशत हर्जानाको क्षतिपूर्ति तिर्नुपर्ने’ आदेश गरेको थियो ।

उनीहरूबाट लिएको २ करोड ५८ लाख १० हजार रूपैयाँ र १ करोड २९ लाख ५ हजार रूपैयाँ थप हर्जाना गरी ३ करोड ८७ लाख १५ हजार रूपैयाँ मागदापी गरिएको थियो ।

उक्त आदेशपछि कमलादेवी पुर्पक्षका लागि थुनामा छिन् भने अन्य प्रतिवादीहरू फरार छन् । वैदेशिक रोजगार विभागले २९ चैत २०७९ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अजित तामाङ र सागर कुमाललाई पक्राउ गरिदिन भन्दै पत्राचार गरेको थियो ।

पीडितहरूले ग्लोबल आईएमई बैंकमा सागर कुमालको नाममा रहेको बैंक खातामा पैसा पठाएका थिए । यो कन्सल्टेन्सी आन्तरिक राजश्व कार्यालय पुतलीसडकमा आन्तरिक राजश्वमा २०७५ मा तथा भ्याटमा २०७७ मा दर्ता भएको देखिन्छ । तर, यसले २०७६ देखि नै कर नतिरेको देखिएको छ ।

कन्सल्टेन्सीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा समेत यूरोपका विभिन्न देशमा रोजगारीको अवसर भन्दै विज्ञापन गर्दै आएको देखिएको छ । हाल उक्त पेज निस्क्रिय देखिन्छ ।