
पूर्णपुष्टि, असार १०
एक युवकको हत्या आरोपमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । कपिलवस्तु नगरपालिका–८ पूर्व डिह बेलौहवा बस्ने १८ वर्षीय बिजय बहादुर कुर्मीको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई निन्त्रणमा लिएको हो ।
हत्या अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहारलाई नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
सोही ठाउँस्थित पोखरीमा असार ७ गते बिजय मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिजयको बास्मती काहारसँग अनैतिक सम्बन्ध रहेको, सोही कारण बास्मतीका पति अनिल समेतले १ महिना अगाडि बिजयलाई कुटपिट गरेका थियो, असार ४ गते बिहान अनिल बिवाहबाट फर्केर घरमा आउँदा बिजयलाई आफ्नो कोठामा देखेपछि अनिल, रमेश र बास्मती तीनैजना मिलेर घाँटी कसी तथा कुटपिट गरी हत्या गरेपश्चात पोखरीमा शव फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि जिल्ला अदालत कपिलवस्तुबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
