
पूर्णपुष्टि, बैशाख ८ गते ।
वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवालाई उद्यममा लगाई देशमै रोजगारी सिर्जना गर्न कार्यदल गठन भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा आइतबार विभिन्न मन्त्रालय र निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधिबीच भएको छलफलबाट कार्यदल गठन गरेको हो ।
विदेशबाट आएका युवालाई देशमै उद्यम गर्न प्रेरित गर्न बनेको कार्यदलको नेतृत्व उद्योग मन्त्रालयको औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखा प्रमुखले गर्नेछन् भने कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सदस्य रहने छन् ।
साथै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा निजी क्षेत्रका छाता सङ्ठनहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर्स अफ् कमर्स र नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधि पनि रहने छन् ।
कार्यदलले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उत्पादनशील उद्यमशीलतामा सहभागी गराउन विशेष योजना तयार गर्नेछ । कार्यदलले १५ दिनभित्र प्रतिवदेन बुझाउनुपर्नेछ ।
