Saturday, June 27News That Matters

यूएई १५१ जना बोकेर हिमालय एयरलाइन्स नेपाल उड्यो

पूर्णपुष्टि, असार ७ गते । 

यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको जहाज नेपालका लागि उडेको छ । एच –९ ५६७२ नम्बरको उडानमार्फत यूएईको समय अनुसार आइतबार बिहान ४ बजेर २० मा जहाज काठमाण्डौका लागि उडेको हो ।

नेपाल फर्कनेमा २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् । नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका दूतावासले जनाएको छ । त्यस्तै केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् ।

यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिरहेको छ । यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको छ ।

आज परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमार्फत स्वदेश फर्काइने जनाएको छ ।

आज यूएईबाट ३ वटा उडान हुँदै छ । आबुधावीबाट हिमालय एयरलाइन्स उडेको छ भने यूएईको समय अनुसार ८ बजे फ्लाई दुबइ उड्ने छ । १ सय ५८ जना बोकेर फ्लाई दुबईले पहिलो उडान भर्न लागेको हो । आइतबार नै नेपाल एअरलाइन्सको दोस्रो उडान हुनेछ । स्थानीय समय अनुसार बिहान ११. १० मा नेपाल एअरलाइन्सको वाइडबडी मार्फत उडान हुने नेपाल एयरलाइन्सका यूएई प्रमुख टिकाराम पंगेनीले उज्यालोलाई जानकारी दिनुभयो । आज नेपाल एयरलाइन्सको वाइडवडीमार्फत २ सय ६६ जना नेपाली देश फर्किन लागेका हुन ।