
उदयपुर, फागुन २६
कोरोना भाइरस संक्रमणको उच्च सतर्कताका कारण सर्बसाधारणले होली नखेल्ने भएपछि उदयपुरको सदरमुकाम गाईघाटमा रंगको विक्री ठप्प प्रायः भएको छ ।
पहाडी क्षेत्रमा २६ र मधेस क्षेत्रमा २७ गते होली खेल्ने दिन भएपनि उदयपुरको सदरमुकाम गाईघाटमा दुबै दिन खेल्ने गरिन्थ्यो । तर यसवर्ष होली खेल्न कोही बाहिर ननिस्किएपछि रंग विक्री नभएको खुद्रा ब्यापारी मनोज साहले बताउनुभयो । साहले विगतमा सामान्य खुद्रा पसलले पनि लाखौंको रंग विक्री गर्ने गरेकोमा यसवर्ष विक्री नभएपछि लगानी पनि नउक्सने अवस्था आएको बताउनुभयो ।
ब्यापारीहरुले पनि खुलेर बजारमा रंग विक्री गर्न राख्न सकेका छैनन् । सामान्यढंगले होलीका खेलौना, पिचकारी, भेष्टहरुका साथ रंगहरु राखेका छन् । स्थानीय प्रशासनले होलीमा रंग खेल्न, पानी खेल्न, भिडभाड गर्न र होहल्ला मच्चाउन नपाउने भन्दै होली विशेष कार्यक्रमहरुसमेत प्रतिबन्ध लगाएको छ । प्रशासनको निषेध र सर्बसाधारणमा विश्वब्यापी रुपमा भईरहेका कोरोना भाईरसको सन्त्रासका कारण होली पर्व प्रभावित बनेको स्थानीय मधेसी युवा समाजसेवी राजकुमार शर्माले बताउनुभयो ।
पहिलो दिन वालवालिकाहरुको विशेष चहलपहल हुने गरेको थियो । संघसंस्थाहरुले पनि कार्यक्रमको आयोजना गर्ने गरेको थियो । विभिन्न युवाहरुको समुहहरु होली खेल्ने र दोस्रो दिनमा अझ विशेष रुपले मनाउने चलन उदयपुरमा रहेको थियो । “पहिलो दिन कतै पनि होलीको रंग देखिएन ।” स्थानीय युवा समाजसेवी किसन राईले भन्नुभयो “यो कोरोनाप्रतिको सतर्कता मान्नुपर्छ ।” राज्यले नै नखेल्न आव्हान गरेको अवस्थामा हरेक सचेत नागरिकले पालना यसरी नै गर्नुपर्ने उहाँले बताउनुभयो ।
विशेष गरी मधेसी समुदायले विशेषरुपमै मनाउने होली पर्व यस पटक विषम परिस्थितिमा परेको हो । सर्बसाधारणनै हितमा स्थानीय प्रशासनले आव्हान गरेकोले भिडजन्य तथा रंगखेल्ने जस्ता क्रियाकलापहरुमा निषेधलाई सहर्ष स्विकार गर्दै स्वागत गरिएको युवा समाजसेवी रुपम अनुराग गुप्ताले बताउनुभयो ।
गुप्ताका अनुसार यसवर्षको होलीलाई सामान्य ढंगले मनाइनेछ । भिडभाड गर्नुको सट्टा घरघरमा गएर, पारिवारिकरुपमा मात्र मनाइने तयारी भएको छ । रंग पनि सामान्य रुपले दलेर खानपीन, भेटघाट गरेर पर्वलाई मनाइने उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बेलैमा सर्बसाधारणलाई होलीमा भिडभाड नगर्न, हो होल्ला नमच्चाउन र रंग नदल्न आव्हान गरिएको र आव्हान अनुरुप सर्बसाधारणले पालना गरेको बताउनुभयो । होलीको अवसरमा हुने होली विशेष कार्यक्रमहरु पनि प्रशासनकै आव्हानमा सबैले स्थगित गरेर आयोजकहरुले सहयोग पुर्याएको पनि उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले होलीमा हुन सक्ने भिडभाड, होहल्लालाई रोक्ने उद्देश्यले प्रहरी बजार, गल्ली, सडकहरुमा तैनाथ रहेका छन् । पहिलो दिन प्रशासनको आव्हानलाई अवज्ञा नगरिएको पाइएको उहाँले बताउनुभयो । दोस्रो दिन विशेष रहेकाले त्यसदिन थप कडा निगरानी गरिने उहाँले बताउनुभयो । यदि कसैले अवज्ञा गरे पहिलोपटक सम्झाइने र फेरी पनि अवज्ञा गरेमा कारवाही गरिने उहाँले बताउनुभयो । समग्रमा उदयपुरमा होली जस्तो पर्वमा पनि सर्बसाधारणले कोरोनाप्रतिको सतर्कता अपनाएको देखिएकोछ ।
