Tuesday, April 21News That Matters

रसुवागढी नाका जोड्ने छोटो दुरीको मैलुङ–स्याफ्रु सडक खुल्यो

पूर्णपुष्टि, असोज २२

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक करिब तीन महिनापछि खुलेको छ ।
वर्षाले सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएपछि गत असार मसान्तदेखि सडक बन्द भएको थियो । प्राविधिकरुपमा जोखिम भएकाले वर्षा सिजन सकिएपछि मात्रै सडक सञ्चालन ल्याइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडक खुलेसँगै गाडी चल्न थालेका छन् ।

२०७५ जेठ ६ गते सडकको ट्रयाक खोल्ने काम सकिएको थियो । नेपाल–चीन र भारत त्रिदेशीय व्यापार सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्नुपरेको कारण निर्माणको काम पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ ।

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।