
पूर्णपुष्टि, पुष २
राजधानी भन्दा बाहिर विराटनगरमा पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ । विराटनगरमा आगामी पुष ९ र १० गते सो महोत्सव हुन लागेको हो ।
२ दिनसम्म चल्ने महोत्सव अन्र्तगत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन हुने कार्यक्रम छ । आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो ।
समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरि सो बिषयमा जानकारी गराएको छ । आदिवासी जनजातिहरूको भाषा, कला, संस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रबर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिप नारायण राजवंशीले बताए ।
महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भाषाको चलचित्र प्रदर्शन गरिनेछ । प्रदर्शन गरिएका चलचित्रहरू मध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाइएको छ । त्यसकालागि विभिन्न भाषाभाषीका निर्देशक सम्मिलित एक निर्णायक समिति समेत गठन गरिने आयोजक समितिले जनाएको छ ।
