Thursday, November 14News That Matters
२९ कार्तिक २०८१, बिहीबार

राष्ट्रिय गौरब आयोजनाको नाममा खोला दोहन

पूर्णपुष्टि/उदयपुर, बैसाख २४ गते

-जेडआईइसी लामा एण्ड शर्मा जे.भि.ले राष्ट्रिय गौरबको आयोजनाको नाममा उदयपुरको सदरमुकाम गाईघाट स्थित बरुवा खोलामा लापरवाहीपूर्ण ढंगले उत्खनन् गरेको छ ।

पूर्व पश्चिम बैकल्पिक राजमार्गको बसाहादेखि सिन्धुलीको विमानसम्मको खण्डमा निर्माण ठेक्का पाएको उसले सदरमुकाम गाईघाटको बरुवाखोलाबाट लापरवाहीपूर्ण ढंगले गिटिबालुवा उत्खनन् गरेको हो । बरुवा पुल छेउभन्दा करिब दुई सय मिटरको दुरीबाट अस्वभाविकरुपमा खाल्डो पारी बालुवा निकबासी गर्दै आएको छ । यसरी निकालेको बालुवा आउदो असार, साउन महिनाका लागि भन्दै त्रियुगा नगरपालिका १३ भाँतीखर्कमा जम्मा गरिरहेका छन् ।

प्रारम्भिक वातावरणीय परिक्षणले बरुवा पुलबाट पाँचसय मिटर टाढा र आधा मिटर गहिराई भन्दा बढि उत्खनन् नगर्न भनेपनि सो को उलंघन गर्दै पाँच मिटरसम्म गहिराई खनिएको छ ।  जिल्ला समन्वय समितिले सो ठाउँबाट ११ हजार घनमिटर गिटि, बालुवाको स्विकृति दिएपनि विना लेखाजोखा निकासी हुदै आएको छ । बेलुका ६ : ३० बजेसम्म मात्र निकाल्न भनिएपनि राती अबेरसम्म निकाल्ने गरिएको स्थानीयले बताएका छन् ।  उत्खनन् स्थलमा चार किल्ला खुलाई होर्डिङबोर्ड समेत राख्नुपर्नेमा राखिएको छैन ।

स्थानीय विभिषणदास चौधरीले लापरवाहीपूर्ण ढंगले उत्खनन् गरिदा पर्ताहा, बिसनपुर, सोनापुर, पुरानो गाईघाट, लक्ष्मीपुर लगायतका बस्ती जोखिममा पर्ने बताउनुभयो । अहिले नै पनि गहिरो खाडलहरु बनाएको र पानी जमिएकाले मानिस डुबेर मर्ने जोखिम उत्तीकै रहेको चौधरीले बताउनुभयो ।

ठेकेदार कम्पनीका उदयपुर प्रतिनिधि सिताराम दाहालले उत्खनन्मा लापरवाही भएको खण्डमा सच्याईने बताउनुभयो ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परिवारले तोकिएको सर्त र मापदण्ड विपरित गरेको पाईएमा कारवाही हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0