
पूर्णपुष्टि, जेठ ४ । युरोपियन च्याम्पियन लिगको सेमिफाईनल खेलमा स्पानिस क्लब रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यान्चेष्टर सिटी फाईनलमा प्रवेश गरेको छ ।
रियल र सिटि बिचको पहिलो सेमिफाईनल खेल १–१ को बराबरीमा सकिएको थियो भने बुधबार राती भएको दोस्रो लेगमा सिटीले ४–० गोल अन्तरले रियललाई हराउँदै समग्रमा ५–१ को जित सहित फाईनलमा प्रवेश गरेको हो ।
घरेलु मैदान एतिहाड स्टेडियममा भएकोे खेलको २३ औं मिनेटमा बेर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई आग्रता दिलाएका थिए भने खेलको ३७ औं मिनेटमा दोस्रो गोल गर्दै आग्रता दोब्बर बनाए । त्यसपछि ७६ मिनेटमा रियलका मिलिटाओ अकान्जीले आत्मघाती गोल गरे भने खेलको इन्जुरी टाईममा जुलियन अल्भारेजले गोल गर्दै सिटीले रियलमाथि सानदार जित निकालेको हो ।
सिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग आगामी जुन १० मा टर्कियको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ। २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो । १४ पटकको च्याम्पियन साविक विजेता रियल मड्रिड सेमिफाईनलबाटै बाहिरिएको छ ।
