Saturday, June 13News That Matters

रुग्ण आयोजनाबाट हर्जना नलिन आयोगको निर्देशन

पूर्णपुष्टि, असोज २७

विद्युत् नियमन आयोगले रुग्ण आयोजनाबाट हर्जना नलिन नेपाल विद्युत प्राकिरणलाई निर्देशन दिएको छ ।
आयोगले पत्र लेखेर रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्राधिकरणलाई निर्देशन दिएको हो ।

विद्युत खरिद बिक्री तथा अनुमतिप्राप्त कम्पनीले पालना गर्नुपर्ने शर्तसम्बन्धी विनियमावली, २०७६ अनुसार भएको व्यवस्थाको कार्यान्वयन नभएको उल्लेख गर्दै ध्यानाकर्षण गराएको आयोगले जनाएको छ ।
आयोगले प्राधिकरणलाई विनियमावलीमा भएको व्यवस्थाको वस्तुनिष्ठ कार्यान्वयन गर्न भनेको छ । निर्देशन जारी भएको मितिदेखि अहिलेसम्म प्राधिकरणले रुग्ण घोषित गरेका नदी प्रवाही र अर्थजलाशय आयोजनाबाट हर्जना लिएको भएमा प्रवर्द्धकलाई आउँदो महिना पाउने बिलमा मिलान गर्न समेत निर्देशन दिएको जनाएको छ ।

त्यस्तै प्रकोपले उत्पन्न भएको परिस्थितिका कारण प्रसारण लाइन वा सबस्टेशनमा क्षति पुग्न गइ प्राधिकरणले विद्युत् खरिद गर्न नसकेको अवस्थामा पनि निजी ऊर्जा उत्पादकले क्षतिपूर्ति माग गर्न नपाउने पत्रमा उल्लेख गरिएको छ ।
कुल ७१ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना विभिन्न कारणले रुग्ण बनेको भन्दै प्रवर्द्धकले सरकारसँग राहत माग गर्दै आएका छन् । उनीहरुले उत्पादित विद्युतले खर्च धान्न समेत नसकेको दाबी गर्दै आएका छन् ।