
पूर्णपुष्टि, असार १८ ।
उदयपुरको रौतामाई गाउँपालिकाका महिलाहरुले गाउँमै मिठो अचार उत्पादन गरेका छन् । गाउँमै उपलब्ध हुने अमला, कागती, मुला, गाजर आदिको अचार बनाएका हुन् । “रौतारानी” नाम दिएर अचार उत्पादन गरेका छन् । उनीहरुले अमलाको छुट्टै र मिसाइएको अचार उत्पादन गरेका हुन् ।
रौतामाई गाउँपालिकाको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को आर्थिक तथा प्राविधिक सहयोगमा उदयपुर कृषि सहकारी संस्थाले असार १६ र १७ गते भुट्टारमा तालिम सञ्चालन गरेको हो । श्रीमान् बैदेशिक रोजगारमा रहेका १३ जना महिला तालिममा सहभागि थिए । उनीहरुले अचार बनाउनेदेखि प्याकेजिङसम्मको सिप पाएका छन् ।
तालिमको समापन तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै पालिका अध्यक्ष बिरेन्द्रकुमार मगरले महिलाहरुले मिठो र स्वास्थवर्धक अचार उत्पादन गर्न सफल भएको बताउनुभयो । अचार उत्पादनलाई पालिकाको पहिचानसंग जोडेर प्रवर्द्धन गरिने र आगामीवर्ष थप कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । पालिका उपाध्यक्ष भुपिन्द्रबहादुर थापाले उत्पादन र बजारिकरणमा पालिकाको सहयोग रहने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले रैथाने बालीसहितको कृषि उत्पादन र उद्यमलाई प्राथमिकता दिइने बताउनुभयो ।
कान्तिपुर टेलिभिजनका सम्बाददाता भोटराज राईले गाउँगाउँमा अचार उत्पादन हुनुले आत्मनिर्भरता बढ्ने बताउनुभयो । यसलाई ब्यवसायिकरुपमा उत्पादन गरेर आयआर्जनमा जोड दिनुपर्ने उहाँको भनाइ छ । उदयपुर कृषि सहकारी संस्थाका अध्यक्ष नारागणबहादुर दाहालले चारवर्षदेखि अचार उत्पादन गर्दै आएको र थुप्रै तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । अचारबाट आयआर्जनको राम्रो सम्भावना रहेकोले उत्पादनसंगै बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रशिक्षक बालिका कार्की पाण्डेले सहभागिले तालिमलाई ब्यवहारमा उतार्न सक्नुपर्ने भन्दै सहयोगका लागि आफु तत्पर रहेको बताउनुभयो । सहभागिहरुको तर्फबाट बोल्दै धनकुमारी केप्छाकी मगरले तालिमबाट आफुहरु उत्साहित बनेको, उद्यमी बन्न प्रेरणा मिलेको बताइन् । आफ्नाे हातमा सिप भएपछि आयआर्जनका लागि श्रीमान्को मात्र भर नपर्ने बताइन् ।
सामीका वित्तिय साक्षरता सहजकर्ता दिपक रोकाका अनुसार महिलाहरु स्वयम् आत्मनिर्भर बन्नु र बैदेशिक रोजगारको मात्र मुख ताक्न नपरोस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
अचार बनाउने तालिम ताप्लीको पाँचै वडामासमेत सञ्चालन गरि रौतामाईमा गरिएकोे अर्का तालिम प्रशिक्षक तेजबहादुर पोण्डेले जानकारी दिनुभयो ।
अन्य तस्विरहरु :

