
पूर्णपुष्टि, माघ ७ । लहानमा बसको ठक्करबाट उदयपुरका एक युवाको आईतबार मृत्यु भएको छ । त्रियुगा नगरपालिका–५ देउरी निवासी ४२ वर्षीय योगेन्द्र (किरण) थापाको स्कुल बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्वस्तिका बोर्डिङ स्कुलमा लेखापाल रहेका थापा श्रीमती र छोरीसहित बा १८ प ८३२५ नम्बरको मोटरसाइकलमा सिरहाको मिर्चैयाबाट घरतर्फ फर्किंदै गर्दा लहान नगरपालिका–१२ स्थित बाटिका होटल अगाडि विपरीत दिशाबाट आएको संकल्प बाटिका स्कुलको प्र २००१ नम्बरको बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका परिवारका सदस्यहरूलाई तत्काल हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको थियो । मृतकका भाइ ज्योति थापाका अनुसार श्रीमती सुधाको अवस्था सामान्य रहेको छ भने छोरी शैलजाको अवस्था गम्भीर रहेकोले भेन्टिलेटरमा राखिएको छ । चिकित्सकले योगेन्द्र थापालाई मृत घोषणा गरेका हुन् ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार दुर्घटना गराउने बस र चालक दीपेश कुमार चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । मृतक थापा स्वस्तिका बोर्डिङ स्कुलमा लेखापालको रूपमा कार्यरत थिए । उनको परिवारमा श्रीमती र एक छोरी रहेका छन् ।