लागुऔषध कारोबारी उदयपुरका अविनाशलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो

पूर्णपुष्टि, २६ मंसिर ।
उदयपुर घर भएका लागुऔषध कारोवारी अविनाश राईलाई प्रहरीले गोली चलाएर काठमाण्डौँबाट नियन्त्रणमा लिएको छ । राईलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको जनाएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर ३ ठाडो भर्‍याङनजिकै एक रेष्टुरेन्टमा लागुऔषध कारोबारी बसेको सूचनाका आधारमा सुरूमा सादा पोसाकका प्रहरी त्यहाँ पुगेका थिए।

सादा पोसाकका प्रहरीसँग लागुऔषध कारोबारी अविनाश राईले ५५ लाख रुपैयाँमा एम्फेटामाइन आइस नामको लागुऔषध बिक्री गर्ने डिल गरेका थिए । उनीसँग चार सय ९० ग्राम लागुऔषध थियो।

उनले भारतबाट उक्त लागुऔषध ल्याएको प्रहरीको अनुमान छ । राईले प्रति ग्राम ९ हजारमा ल्याएको प्रहरीसँग बताएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाइएको हो। उनको दाहिने खुट्टामा गोली लागेको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

लागुऔषध कारोबारी राईले आफूसँग डिल गर्ने व्यक्तिहरू प्रहरी भन्ने थाहा पाएपछि कटुवा पेस्तोल ताकेका थिए। त्यसपछि केहीबेर घम्साघम्सी भएपछि प्रहरीले गोली चलाएको थियो।

‘उनले कटुवा पेस्तोल ताकेपछि हामीले गोली चलाएर नियन्त्रणमा लिएको हो,’ घटनास्थलमा खटिएका एक प्रहरीले भने, ‘उनले लागुऔषध कारोबार गर्छन् भन्ने सूचना प्रहरीलाई केही दिनअघि नै आएको थियो।’

राईको दाहिने तिघ्रामा गोली लागेको हो। गोली लागेर घाइते भएका उनको उपचारका लागि ट‍्रमा सेन्टर लगिएको छ। अहिले उनको उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
1
+1
1
+1
1
+1
4