
पूर्णपुष्टि, चैत १५
मोरङबाट लागूऔषध ओसारपसारमा प्रयोग भएका दुई जना बालकसहित एक जना भारतीय नागरिक पक्राउ परेको छ ।
विराटनगर महानगरपालिका–१८ भेडियारीबाट ११ र १३ वर्षीय बालकसहित भारत बिहारको अररिया वैजनाथपुरका २३ वर्षीय दिलीपकुमार साह पक्राउ परेको हो ।
शाहले दुई बालकलाई भारतबाट नेपाल लागूऔषध पार गर्न लगाएको प्रहरीले जनाएको छ । पक्राउ परेका बालकहरु दाजुभाइ रहेको खुलेको छ । लागूऔषधसहित पक्राउ परेका दाजुभाइले दिएको सूचनाका आधारमा प्रहरीले कारोबारी शाहलार्ई पक्राउ गरेको जनाएको छ ।
झोला बोकेर नेपाल आउँदै गरेका बालकको झोला चेक गर्दा उनीहरुले बोकेको झोलाबाट डाइजेपाम, फेनारगन र नुफिन ५ सय ७० एम्पुल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नाकामा चेकजाँच नहुने भएकाले भरियाको रुपमा बालकलाई प्रयोग गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई बालक विपन्न परिवारको भएको खुलेको प्रहरीले जनाएको छ ।
पैसाको लोभमा लागूऔषध कारोबारीले उनीहरुलाई भरिया बनाएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
