
पूर्णपुष्टि, जेष्ठ ४
शौचालय निर्माण सम्बन्धी कार्यमा विवाद आउदा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा महोत्तरीमा एकजनाको ज्यान गएको छ । मटिहानी नगरपालिका–३ बरदाहामा विवाद हुँदा स्थानिय मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको ज्यान गएको हो ।
नातामा मामाभान्जा रहेका स्थानीयवासी मोस्लिम राइन र मोतालिभ राइन दुवै जनाको जग्गाको बीचमा आज शौचालय निर्माणसम्बन्धी विवाद हुँदा दुवै पक्षबाट बाँसको लाठी र चिर्पट हानाहान भएको थियो । लाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले मोस्लिमका छोरा जाविरको टाउको बाँसको ठूलो भाटा प्रहार गर्दा उनको टाउको काटिएर गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
सोही घटनामा परी मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले घटनास्थललाई शान्त पारेको छ भने प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोतालिभ राइन र असरफ राइनलाई पक्राउ गरेको तथा घटनासम्बन्धी अनुसन्धान जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
