
पूर्णपुष्टि, असोज १६ गते ।
उदयपुर–अबैंधरुपमा सल्लोका खोटो संकलन गर्नाले उदयपुरको लाफागाउँ क्षेत्रका सल्लोका बोटहरु धमाधम मर्न थालेका छन् । जथाभारी सल्लाको बोटमा चोट पारेर खोटो झिक्नाले बोटहरु धमाधम मर्न थालेका हुन् । खोटो तस्करले सल्लाका साना रुखसमेत छाडेका छैनन् ।
प्राविधिक हिसावले रुखको एकभागबाट मात्र खोटो निकाल्नु पर्नेमा बोटको चारैपछि छेकेर खोटो निकालिएका छन् । तस्करले धेरै खोटो निकालेर फाईदा लुट्न खोज्दा सल्लेरी बन नै बुट्टिने अवस्था भएको छ ।

स्थानीय सामुदायिक वन समुहको मिलेमतोमा भारतबाट आएका तस्करहरुले खोटो संकलनको नाममा जथाभावी सल्लोका रुखहरुमा क्षती पुर्याएका छन् । गएको केहीबर्षदेखि थालिएको खोटो संकलनपछि धमाधम रुख मर्न थालेको स्थानीय बताउछन् । यहि पाराले हो भने अव सल्लोको जंगल नै बुट्टिने अवस्था आइपरेको बताउछन् ।
जथाभावी बोट काटेर निकालिएको खोटो राम्ररी संकलन नगर्दा जंगलमै नष्टसमेत भईरहेको छ । स्थानीयलाई जंगलमा घाँसदाउरा गर्न, गोठालो गर्नसमेत असहज बनाएको छ ।
स्थानीय सामुदायिक वनहरुले आर्थिक आमदानीको लोभले खोटो संकलन गर्न दिएपनि जथाभावी गरिनाले अव जंगलमै मासिने चिन्ता स्थानीय कौशल राईले व्यक्त गरे । सम्बन्धीत निकायले समयमै यस कार्यलाई रोकेर बन जोगाउनुपर्ने उनले बताए ।
स्थानीयहरुका अनुसार जिल्ला वन कार्यालयको निगरानी पुग्न नसकेका कारण पहाडी भेगका अधिकांश सल्लोका बनहरु अबैध खोटो संकलनका कारण मासिदैछन् । स्थानीय सामुदायिक वनसंगको मिलेमतोमा तस्करहरुले खोटो संकलन गर्न थालेपछि यो समस्या बढिरहेको छ ।