
घरनजिकै धारा, कुवाको बाध्यता हट्यो
पूर्णपुष्टि/उदयपुर, चैत १९ गते
-गरीबी निवारण कोष काठमाडौंको आर्थिक सहयोग र शान्ति समाज केन्द्र (पेशोक) नेपालको प्राविधिक सहयोगबाट जिल्लाको लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिकाका जनताले खानेपानीको सुविधा पाएका छन् ।
समुदाय सशक्तिकरण परियोजना अन्तर्गत लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ अन्तर्गतको राम्चेखर्कमा जुकेपानी खोला खानेपानी परियोजना र सिम्लेमा धारापानी खोला खानेपानी परियाजनाबाट उपभोक्ताहरुले खानेपानीको सुविधा पाएका हुन् । राकुला कृषक सामुदायिक संस्थाले सञ्चालन गरेको जुकेपानी खापायोबाट ११ वटा सामुहिक धारा निर्माण गरि खानेपानीको सुविधा दिइएको छ भने बाराजी मन्दिर सामुदायिक संस्थाले सञ्चालन गरेको धारापानी खापायोबाट १७ वटा सामुहिक धारा निर्माण भएका छन् । जसले दुई विद्यालयसहित सयौं घरधुरी लाभान्वित बनेका छन् ।
जुकेपानी खापायोको १५ लाख, ४१ हजार लागत रहेको र धारापानी खापायोको २१ लाख, १७ हजार, ८५६ लागत रहेको पेशोक नेपालले जनाएको छ ।
त्यसैगरी रौतामाई गाउँपालिकाको दुई स्थानमा पनि सम्पन्न खानेपानी परियोजनाले स्थानीय जनताले स्वच्छ खानेपानीको सुविधा पाएका छन् । सो गाउँपालिकाको वडा नं. २ भुट्टार (भोगटेनी) स्थित धुसेनी खानेपानी परियोजना र वडा नं. ४ को अजिंगरे खोला खानेपानी परियोजनाबाट ६६ बढि घरधुरीलाई खानेपानीको सुविधा मिलेको छ । पञ्चकन्या सामुदायिक संस्थाले सञ्चालन गरेको धुसेनी खापायोबाट ९ वटा सामुहिक धारा निर्माण भई उपभोक्ताहरुले उपभोग गरेका छन् भने मखमली सामुदायिक संस्थाबाट सन्चालन गरेको अजिंगरे खापायोबाट १४ वटा सामुदायिक धाराहरु निर्माण भएका छन् । धुसेनी खापायो १५ लाख ९९ हजार १२६ रुपैयाको लागतमा सम्पन्न भएको हो भने अजिंगरे खापायो १८ लाख ७७ हजार ९८ रुपैया लागतमा निर्माण सम्पन्न भएको पेशोकले जनाएको छ ।
परियोजनाबाट खानेपानीको समस्या झेलिरहेका स्थानीय जनतालाई पिउने पानीको सुविधा हुनुका साथै सरसफाईका लागि सुविधा पुगेको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । नुहाईदुहाई गर्न, लुगाफाटो धुन, चर्पीमा प्रयोग गर्दा हुने अभाव टरेकाले स्वच्छ, सफा, हराभरा र सभ्य गाउँघर बनाउन मद्दत पुगेको बताउनुभयो । बालबालिकालाई घर, विद्यालय र समुदायमा सरसफाई र सभ्याताको अभियानमा अग्रसर बनाउन सकिने उपप्रमुख रमिला राईले बताउनुभयो ।
रौतामाई गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कुमारी राना ज्यू ठकुरीले खानेपानीको समस्या हल हुनु मूख्य समस्या हल हुनु सरह रहेको भन्दै यसले ग्रामिण जनजीवनलाई स्वस्थ्यमा र आयआर्जनमा टेवा पुर्याउने बताउनुभयो ।
खानेपानी तथा सरसफाई भिडिजन प्रमुख श्रेष्ठले परियोजना सम्पन्न भएका गाउँठाउँमा राज्यले लिएको पूर्ण सरसफाईको नीति कार्यन्वयनमा सहज हुने बताउनुभयो । पूर्ण सरसफाईका लागि प्रमुख सूचक खानेपानी मानिन्छ । समुदायलाई व्यवहार र आचरण निर्माणतर्फ उन्मुख गराईने उहाँले बताउनुभयो । समुदायका व्यक्तिहरुलाई स्वच्छ पिउने पानीको पहुँच पुर्याउने उद्देश्यले सम्पन्न गरिएको परियोजनाबाट उपभोक्ताहरुलाई कुवाको असुरक्षित पानी पिउनु पर्ने बाध्यता टरेको पेशोक अध्यक्ष सिर्जना दनुवारले बताउनुभयो । स्थानीय महिलाहरुले खुसी व्यक्त गर्दै विहानको घण्टौ समय कुवाको पानी ल्याउन खुर्चिनु पर्नेमा अव घर नजिकै धारा आएपछि समयको बचत भएकाले बाँकी समयमा घर तथा वरिपरिको सरसफाई तथा अन्य आयआर्जनका काम गर्न सकिने बताए । साथै घरघरमा जुठेल्ना बनाई जुठोभाडो गरेको पानी संकलन गर्ने र करेसाबारीसमेत बनाई सागसब्जी तथा तरकारी फलाउन सकिने उनीहरुले बताए ।
०६१ देखि अहिलेसम्म
पेशोक नेपालले जनाए अनुसार विगत २०६१ सालदेखि साविकका गाविसहरु भुट्टार, नामेटार, बाराहा र साउनेमा विभिन्न भौतिक पूर्वाधार विकासका कामहरु गर्दै आएको छ । २०६६ सालदेखि गरिबी निवारण कोषको आर्थिक सहयोग र संस्थाको प्राविधिक सहयोगमा आयआर्जनमुलक कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको संस्थाले २ करोड, ४४ लाख, १८ हजार २०२ रुपैयाको लागतमा १७ वटा भौतिक पूर्वाधार विकासका कामहरु गरेको जनाएको छ । त्यस्तै २ करोड ६ लाख १० हजार ७०३ बराबरको घुम्तिकोष खडागरी आयआर्जनका क्रियाकलापहरु गरेको छ भने ४ करोड ५० लाख २८ हजार ९०५ लागतको योजना तथा परियोजनाहरु सञ्चालन गरेको जनाएको छ ।
कार्यक्रम सञ्चालन गरेको साविक चार गाविसमा संस्थाले ७० वटा सामुदायिक संस्थाहरु गठन गरी १ हजार ७८७ घरधुरीलाई प्रत्यक्ष लाभ दिएको जनाएको छ । घुम्तिकोषलाई सहकारीमा परिणत गर्न साविक चारै गाविसमा सहकारी सञ्चालक समिति गठन गरी दर्ता प्रक्रियामा रहेको छ । संस्थाले बिनियम बनाई सदस्यहरुको स्थायी आम्दानी बृद्धिका लागि व्यवसायिक ऋण प्रवाह गर्ने जनाएको छ । छाता संगठनको रुपमा सामदायिक संस्था सञ्जाल गठन भएको छ । सञ्जालले संस्थाहरुको प्रभावकारी अनुगमन, सरकारी तथा गैर सरकारी निकायहरुसंग समन्वय, विभिन्न परियोजनाहरु माग गरी संस्थाको अझ विकासमा टेवा पुर्याउने भूमिका निर्बाह गर्नेछ ।
पेशोकले लघु जलविद्युत, पूर्ण सरसफाई, स्वास्थ्य तथा पोषण लगायतका क्षेत्रमा पनि काम गर्दै आएको महासचिव बस्नेतले बताउनुभयो । संस्थाले निरन्तरतरुपमा अनुगमन र प्राविधिक सहयोगको कार्य गर्ने अध्यक्ष दनुवारले बताउनुभयो ।