Tuesday, May 12News That Matters

लेटाङमा मारिएकी महिला प्रहरी जवान श्रेष्ठको गृहजिल्ला उदयपुरमा दाहसंस्कार

पूर्णपुष्टि (उदयपुर), चैत ८ ।
मोरङको लेटाङमा कर्तब्यपालनको सिलसिलामा मारिएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको गृहजिल्ला उदयपुरमा मङ्गलबार अन्तिम दाहसंस्कार भएको छ । मृतक श्रेष्ठको घरमै शब लगेर दाहसंस्कार गरिएको जिल्ला प्रहरीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । त्रियुगा नगरपालिका १६ को डिहिटार गाउँस्थित घरमै शब लगेर अन्तिम दाहसंस्कार आज भएको हो ।
अन्त्यष्टिको भिडियो

दाह संस्कारको क्रममा मृतक प्रहरीप्रती नेपाल प्रहरीले शोक सलामी दिएको छ । प्रनाउ गौतमको नेतृत्वमा रहेको प्रहरी टोलीले शोक सलामी दिएको हो । खोटाङ जिल्ला माइती भई उदयपुर घर भएकी महिला प्रहरी जवान श्रेष्ठको मृत्युले गाउँनै शोकमा परेको छ । शोकमा परेका परिवारजन, आफन्त, छिमेकी र परसम्मका गाउँलेहरु उनको मलामीमा सहभागि बनेका थिए ।
घटनास्थलबाट उदयपुर ल्याइएको शब जिल्ला प्रहरी कार्यालय उदयपुरले मृतक महिला प्रहरी जवान श्रेष्ठको घरसम्म पुर्याएको थियो । नेपाल प्रहरीले दाहसंस्कार खर्च २५ हजार रुपैया परिवारलाई उपलब्ध गराएको छ ।
मोरङको लेटाङ – ५ मा छात्रालाई शिक्षकले यौनदुब्र्यवहार गरेको घटना पछि उत्पन्न तनावग्रस्त क्षेत्रमा शान्ति, सुरक्षाका लागि खटिएको अवस्थामा उनी मारिएकी थिइन् । तीनवर्षअघि प्रहरी सेवामा प्रवेश गरेकी उनी २६ वर्षको कलिलो उमेरमै कर्तब्यपालनको क्रममा मृत्युवरण गर्नु परेको हो । श्रेष्ठ नेपाल प्रहरीको प्रदेश प्रहरी गण रानीमा कार्यरत थिइन् । एकवर्षअघि मात्र बैवाहिक बन्धनमा बाँधिएकी उनको श्रीमान् नविन श्रेष्ठ पनि प्रहरी सेवामै छन् ।