Tuesday, March 18News That Matters

वडाध्याक्षको प्रसंशनीय काम, सदरमुकामसम्म लगेर अपाङहरुलाई दिलाए परिचयपत्र

विक्रम राई (पूर्णपुष्टि)/मंसीर ७ गते ।

उदयपुर–प्राय/जसो जनप्रतिनिधिहरु यतिबेला भोट माग्न हिड्दैमा ठिक्क छन्, तर यहाँका एक वडाध्यक्षले भने जनताको कामलाई प्राथमिकता दिइ प्रसंशनीय काम गरिरहेका छन् ।
धेरैजसो जनप्रतिनिधिहरु आफ्नो पार्टी र उम्मेदवारलाई जिताउन जनताको काम छाडी भोट माग्न हिडिरहेको बेला कटारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कमल श्रेष्ठ भने, अपङगता भएकाहरुको सेवामा जुटिरहेका छन् । उनी आप्mना वडाका अपाङ्गता भएकाहरुको परिचयपत्र दिलाई सरकारी सुविधा दिलाउने अभियानमा जुटेका हुन् ।

नगरपालिका युवा जनप्रतिनिधिको रुपमा चिनिने श्रेष्ठले बिहिबार सदरमुकाम गाईघाटसम्म नै साथमा लिएर सात जना अतिअशक्त अपङगता व्यक्तिहरुको परिचय पत्र बनाइदिएका छन् । सदरमुकामसम्म पुगेर परिचयपत्र बनाउन नसकेर सेवा सुविधाबाट बञ्चित भइ रहेका उनीहरुलाई गाडी रिजर्ब गरेर जिल्ला स्थित महिला तथा वालवालिका कार्यालयमा परिचय पत्र बनाइदिए ।

हिड्न, बोल्न नसक्ने, मानसिक सन्तुलन पनि गुमेका ४४ बर्षिय गजबहादुर बलम्पाकी मगर, हातखुट्टा पुरै नचल्ने ४८ बर्षिय एकबहादुर बलम्पाकी मगर र बोल्न नसक्ने, मानसिक सन्तुलन पनि गुमेका १७ बर्षिय जलबहादुर घले मगरले रातो परिचय पत्र पाएका छन् । त्यस्तै एकपट्टिको हातखुट्टा नचल्ने, बोली पनि नआउने ४५ बर्षिय पंञ्चबीर तामाङ, कम्मरमुनी नचल्ने, हिड्न नसक्ने ९ बर्षिया गिता दमाई र एकपाटाको हातखुट्टा नचल्ने ६० बर्षिय पंञ्चबहादुर श्रेष्ठले निलो र आँखा नदेख्ने ५ बर्षिय टेकबहादुर पुलामी मगरले पहेलो परिचय पत्र पाएका छन् ।

रातो परिचय पत्रलाई मासिक दुई हजार, निलोलाई छ सय र पहेलोलाई शिक्षा, रोजगार, र स्थास्थ्य लगायतको सेवामा सरकारी सुविधा व्यवस्था रहेको छ । आफु हिड्डुल गर्न नसक्ने, गाडी रिजर्ब गरेर आउने नसक्ने अवस्थामा वडाध्यक्षले नै सम्पूर्ण चाँजोपाजो मिलाएर परिचयपत्र दिलाएकोमा एकबहादुर बलम्पाकीले खुसी व्यक्त व्यक्त गरे । “आफुले नसोचेको कुरा पुरा भयो” उनले भने “वडाध्यक्षले हामीलाई लाउनसम्म गुण लगाए ।”

वडाध्यक्ष श्रेष्ठको प्रसंशनीय कामलाई कदर गर्दै कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र बालबिकास समाज नेपाल संस्थाले एक/एक ओटा गाडीको व्यवस्था मिलाइदिएको थियो । दुईवटा गाडीमा सातजना अपाङगता भएका व्यक्तहरुको एक/एकजना सहयोगीसहित सदरमुकाम गएर परिचय पत्र बनाउने कार्य गरिएको श्रेष्ठले बताए । साथै इलाका प्रशासन कार्यालय कटारीलेसमेत सहजरुपमा नागरिकता बनाइदिएर सहयोग गरेको थियो । ४४ बर्षिय गजबहादुरको नागरिकताको अभावमा परिचयपत्र बन्न नसक्नेमा इलाका प्रशासनले तत्कालै बनाइ सहयोग गरेको श्रेष्ठले बताए । महिला तथा वालवालिका कार्यालयले पनि प्राथमिकताका साथ काम गरिदिएको उनले बताए ।

सरकारी सुविधाका साथै शिक्षा, स्वस्थ्य जस्ता आधारभुत सेवा सुविधाबाट बन्चित नहोस् भन्ने हेतुले उनीहरुलाई सहयोग गरेको र सहयोग निरन्तर रहने वडाध्यक्ष श्रेष्ठले बताए । नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्ष बनेका श्रेष्ठले आफु उम्मेदवार हुदैगर्दा अपांग लगायत जनताको सेवा गर्छु भन्ने गरेको बाचा जनप्रतिनिधिको नाताले पुरा गरेको बताए । श्रेष्ठका अनुसार वडामा अन्य अपाङगता भएका व्यक्तिहरुलाई पनि पहिचान गरी भावि दिनमा सिविर संञ्चालन गरेर गाउँमै सेवा प्रदान गर्ने योजना रहेको पनि बताए ।अपांगताका साथै एकल महिला, बृद्धबृद्धाको सामाजिक सुरक्षा सेवालाई प्राथमिकता दिइने उनले बताए ।