विकासलाई सोझै ब्ल्याक एण्ड ह्वाईटको रुपमा बुझ्नु हुदैन : टार्जन लिम्बु, प्रमुख प्रशासकीय अधिकृत- लिम्चुङबुङ गाउँपालिका

पूर्णपुष्टि संवाद (भिडियो)

पूर्णपुष्टि, कत्तिक १७ ।

स्थानीय तह आएपछि लगातार ग्रामिण र विकट क्षेत्रको गाउँपालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत भएर सेवा गरिरहेका टार्जन लिम्बुसंग गाउँ विकासको गहन अनुभव छ । हाल उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा सेवारत लिम्बुसंग पाँचवटा गाउँपालिकामा काम गरेको अनुभव छ । गाउँको विकासको काममा रमाइरहेका उनी रामेछाप, पाँचथर, सिन्धुली र काभ्रे हुँदै हाल लिम्चुङबुङमा सेवारत छन् ।

लिम्चुङबुङ आएको दुईवर्ष पुग्न लागेको छ । यसबीचमा लिम्चुङबुङको विकासमा डटेर लागेका छन् । पालिका अध्यक्ष, उपाध्यक्ष लगायत जनप्रतिनिधिहरुसंग राम्रो समन्वय र सहकार्यका साथ कार्यसम्पादन गरिरहेको उनी बताउछन् । आफु माताहतका कर्मचारीहरुको कुशल नेतृत्व बन्न सफल उनी जनप्रतिनिधिहरुसंगसंगै पालिकाको विकासमा खटिरहेका छन् । पालिकाको नीति, ऐन, नियम, कानुन, कार्यविधी, निर्माणदेखि भौतिक विकास, पूर्वाधार निर्माणमा खटिरहेका छन् । त्यहाँ कर्मचारी र जनप्रतिनिधिबीचको तालमेल राम्रो देखिएको छ, उदयपुरका पालिकाहरु मध्येकै राम्रो सम्बन्ध भन्दा फरक पर्दैन ।

उनको अनुभवमा ग्रामिण भेगको विकास प्रक्रिया अगाडी बढाउन थुप्रै चुनौती छन् । भौगोलिक विकटता, सामान ढुवानी, बसाई सराई जस्ता चुनौती छन् । नागरिक नेतृत्वको अभाव अर्को ठुलो चुनौती हो । विकास बहुआयामिक कुरा हो । सडक, विद्युत, संचार, सिचाई, अस्पताल, विद्यालय जस्ता पूर्वाधारणको एकचरण पार गरेपछि सामाजिक, मानवीय विकास महत्वपूर्ण कुरा उनको ठहर छ । हाल लिम्चुङबुङले एकचरणको विकास पार गरेको उनले बताए । कृषि, पर्यटनलाई जोड दिइएको छ । लिम्चुङबुङ–हलेसी बैकल्पिक राजमार्गमा सुरुदेखि नै जोड दिदै जाँदा अहिले सरकारको योजनामा पर्न सफल भएको छ । समुन्द्रदेखि सगरमाथासम्मको अवधारणा अनुरुप पर्यटन सडकको रुपमा सो सडकको विस्तार गरिने योजना छ ।

विकासलाई सजिलो रुपमा हेर्ने गरिएको भएपनि आफैमा कठिनाइ रहेको उनी बताउछन् । उनका अनुसार विकासको कुरामा पूर्वाधार विकास पहिलो प्राथमिकता हो । शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक विकास उत्तिकै महत्व छ । गाउँमा रोजगारीको अवसर आवश्यक छ । त्यो अवसर कृषिमा रहेको उनले बताए । सबै कृषिमा नसमेटिने भएकाले सेवामुलक उद्योगहरु चाहिन्छ । पर्यटन, ब्यापार, ब्यवसायमा पनि समेट्न जरुरी हुन्छ ।

उनका अनुसार लिम्चुङबुङले थुप्रै गौरवका योजना र कामहरु गर्न सफल भएको छ । लिम्चुङबुङको पाँचै वडामा विद्यालय पूर्वाधारण तथा गुणस्तरीय शिक्षाको ब्यवस्था भएको, पाँचै वडामा स्वास्थ्य पूर्वाधार र सेवा विस्तार भएको उनले बताए । एक्स रे, भिडियो एक्सरे र एमविविएस डाक्टरसम्मको ब्यवस्था पालिकामै रहेको छ । टोल विकास संस्था मार्फत सामाजिक, आर्थिक विकास अगाडी बढाइएको छ । सामाजिक परिचालनमार्फत सरकार र जनताकौबीचको सम्बन्ध नजिक बनाइनेछ ।

लिम्चुङबुङ पर्यटनको पहिलो चरण पार गर्न सफल भएको उनले बताए । एभ्रेष्ट भ्यूटप सिंगो पालिकाको पर्यटन स्तम्भमात्र नभई पुरै १ नम्बर प्रदेशको बन्नसक्ने उनको भनाई छ । पालिकाको प्रशासकीय भवन र वडा भवन लगायतका सरकारी भवनहरुको निर्माण कार्य अगाडी बढेको छ ।
गाउँमा विकासको काम ढुक्कले गर्न सक्ने वातावरण नरहको उनी बताउछन् । वर्षात र सडक अवस्थाका कारण १२ महिनामा ६ महिनासम्म मात्र काम गर्न सकिने अवस्था हुन्छ । दक्ष जनशक्ति कामदारको अभावको सामना गर्नुपर्दछ । तथापी डटेर विकासको काम अगाडी बढाइराखिएको उनले बताए । अहिलसम्मको काममा आत्मसन्तुष्टि छन् उनी ।

विकासको सन्दर्भमा जनताको गुनासो र टिप्पणी आउने कुरालाई स्विकार गर्दै उनले नागरिकहरुले विकासको कामलाई ब्लाक एण्ढ ह्वाईटको रुपमा हेर्न नहुने बताउनुभयो । विकासे कामलाई सोझै हेर्नु भन्दा पनि त्यसभित्रको प्रक्रिया, कढिनाई, चुनौतीहरुसमेत बुभ्mनु पर्ने हुन्छ । विस्तारै त्यस्ता गुनासो र टिप्पणी हट्ने उनको विश्वास छ ।

काममा पालिका अध्यक्ष र उपाध्यक्षको राम्रो समन्वय र सहकार्य उनलाई चित्त बुझेको छ । कर्मचारी र जनप्रतिनिधिको जिम्मेवारी फरक फरक हुन्छ । यो कुरा बुझेकाले लिम्चुङबुङमा समस्या छैन । जनप्रतिनिधि र कर्मचारी एकले अर्काको जिम्मेवारी गर्न खोज्दा समस्या आउने गरेको भएपनि लिम्चुङबुङमा त्यो अवस्था नरहेको उनले बताए । नागरिकहरुसंग पनि कर्मचारीको अपेक्षा हुनेगर्छ । नागरिकहरुको अर्थपूर्ण सहभागिता र खबरदारीको अपेक्षा रहने प्रमुख प्रशासकीय अधिकृत लिम्बु बताउछन् । नागरिक सचेतक हुन् भन्छन् उनी । (पूर्णपुष्टि संवादमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: