
पूर्णपुष्टि, असोज १२
कोरोना महामारीबाट उत्पन्न समस्यामा परी विदेशमा अलपत्र परेका ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।
महामारी सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका नेपालीहरु विभिन्न चार्टर्ड उडान र भदौं १६ पछि भने केही देशबाट नियमित उडानमार्फत स्वदेश फर्किएका हुन ।
शनिबारसम्म ३२ देशबाट ८० हजार १६ जना नागरिक स्वदेश फर्केको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) ले जनाएको छ ।
स्वदेश फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २ सय ३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् । उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा विभिन्न देशमा गएका थिए ।
अहिलेसम्म साउदी अरेबियाबाट १२ हजार ३ सय ८१, मलेसियाबाट ११ हजार ६ सय ५१, कतारबाट ११ हजार १ सय ५०, कुवेतबाट आठ हजार ४ सय ७८, जापानबाट एक हजार ७ सय ५४, दक्षिण कोरियाबाट एक हजार ४ सय ४७, ओमनबाट एक हजार ३ सय २५, बहराइनबाट एक हजार २ सय ७४, अष्ट्रेलियाबाट एक हजार ९१, टर्कीबाट ९ सय ३६, बङ्गलादेशबाट ८ सय ८८, माल्दिभ्सबाट ८ सय ५३, सिङ्गापुरबाट ५ सय ५५, अमेरिकाबाट ४ सय ३०, चीनबाट ३ सय ३३ र जोर्डनबाट ३ सय १७ नेपाली स्वदेश फर्केका हुन् ।

