
पूर्णपुष्टि,माघ २९ । विश्वकप च्याम्पियनको उपाधि रियल म्याड्रिड क्लबले उचालेको छ । साउदी अरेबियाको अल हिलालमाथि ५–३ को जित निकाल्दै स्पेनिस क्लब रियल म्याड्रिड पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो ।
शनिबार राति रियललाई च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २९२ तथा कप्तान करिम बेन्जेमाले एक गोल गरे। अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरेका थिए ।
खेलको १३ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाए। १८ औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । २६औं मिनेटमा साउदी क्लबका लागि मोउसा मारेगाले गोल गरेपछि पहिलो हाफ २–१ को स्थितिमा पुग्यो।
५४ औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए । ५८ औं मिनेटमा फेडे भाल्भेर्डेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई ४९१ को स्थितिमा पुर्याए । ६३ औं मिनेटमा लुसियानो डारियो भिट्टोले गोल गर्दै अल हिलाललाई खेलमा फर्कने संकेत दिए। तर ६९औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ खेल गरे।
७९ औं मिनेटमा लुसियानो डारियो भिट्टोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै क्लब विश्वकपको उपाधि जितेका छन्। उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्वकप जित्ने पहिलो एसियाली टिम बन्न चुकेको छ।
पाँच पटक फाइनल पुगेको रियल पाँचैपटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१४, २०१६, २०१७ र २०१८ मा उपाधि जितेको थियो । यस्तै स्पेनिस क्लब बार्सिलोनाले ३ तथा ब्रायन म्युनिखले २ पटक उपाधि जितेको छ।
