
पूर्णपुष्टि, भदौ १३
कोरोना संक्रमणबाट वीरगञ्जमा थप तीनको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका मनियारीका ३७ वर्षीय पुरुष, वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका ४३ वर्षीय पुरुष र वीरगञ्ज–१२ की ६५ वर्षीया महिलाको उपचारका क्रममा कोरोना अस्पतालमा मृत्यु भएकोे हो ।
मुर्लीका पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा र मनियारीका पुरुषको थप उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा चितवनमा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
हेपाटाइटिस बी र एचआईभी सङ्क्रमित ३७ वर्षीय पुरुषको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा रिफर गरिएको थियो । त्यस्तै गतराति नै उपचारको क्रममा वीरगञ्ज–१२ की ६५ वर्षीया महिलाको मृत्यु भएको थियो ।
श्वासप्रश्वासमा समस्या भएपछि हिजो दिउँसो नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनलाई पखाला समेत लागेको थियो ।
