
पूर्णपुष्टि,फागुन १ । उदयपुरको गाईघाटमा धेरै ब्याजको प्रलोभनमा पारेर छोटो समयमै धेरै बचतकर्ता जम्मा पारेको तुलसी बहुुउद्देश्यीय सहकारी संस्था एकसतादेखि बन्द अवस्थामा छ । विश्वास गुमाएपछि बचतकर्ताहरुले धमाधम बचत फिर्ता माग्न थालेपछि सहकारी बन्द गरेको हो ।
उक्त संस्थाले तीन हजार ३३४ जना बचतकर्ताको २३ करोड ६६ लाख ३६ हजार बचत जोखिममा परेको छ । प्रशासन र स्थानीय सरकारको रोहबरमा सहकारीको प्रतिनिधि र बचतकर्ताबीच छलफल, बार्ता चलेपनि अझै पनि बचतकर्ताहरुको समस्या समाधान भएको छैन । सहकारीले अध्यक्ष केदारनाथ शर्मा आउने र समस्या सम्बोधन गर्ने भन्दै आलटाल गरिरहेको छ, भने बचत फिर्ताको माग गर्दै बचतकर्ताहरु दैनिक धाइरहेका छन् ।

बढि ब्याजको लोभमा ठूला ब्यापारी, ब्यवसायीदेखि सामान्य पसले, ट्याम्पुु चालकसम्मले दुुईबर्ष यता बचत गर्दै आएका थिए । सहकारीकै टिमले सञ्चालन गरेकोे गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले पनि ग्राहकको विश्वास गुमाएपछि बन्द हुुने अवस्थामा पुगेको हो ।
त्रियुुगा नगरपालिका ११ का वडाध्यक्ष सुमन्त कोइरालाका अनुसार आजको छलफलमा बचतकर्ताहरुले बैैंक ग्यारेण्टी तत्काल हुनुपर्ने माग अघि सारेका छन् । उनीहरुले ६ महिनासम्मको बैंक ग्यारेण्टी मान्ने भएका छन् । साना बचतकर्ताहरुको भने क्रमशः फिर्ता गर्दै जाने सहमति जुटेको छ ।
सहकारी संस्थाका सञ्चालक समिति सदस्य छविलाल बि.क.ले भोली अध्यक्ष आउने र बैंक ग्यारेण्टीको काम गरेर समस्या हलमा लाग्ने बताए ।
