पूर्णपुष्टि, असोज २६ गते ।
गाईघाट–उदयपुर जिल्लास्तरीय व्याड्मिन्टन प्रतियोगितामा बलबहादुर कार्की र दिपक राईको जोडीले प्रथम स्थान हाँसिल गरेको छ । १५–२१, २१–९ र २१–१९ को डिसाईडिङ खेलमा ताराचन राई र गोविन्द थापाको जोडीलाई पछि पार्दै उक्त जोडी प्रथम भएको हो ।
तेस्रोसेटमा २ अंकले पछि परेपछि राई र थापाको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । धनकुमार श्रेष्ठ र रुवेन राईको जोडी तथा हिमाल श्रेष्ठ र सरोज खवासको जोडी तेस्रो भएका छन् ।
“बी” डिभिजनतर्फको खेलमा बेल्टारका भेषराज मगर र एकराज मगरको जोडीले प्रथम स्थान हाँसिल गरेका छन् । उक्त जोडीले २१–१९ र २२–२० को सोझोसेटमा जीत सुनिश्चित गरेको हो । पुरनचन्द भट्ट र प्रकास बस्नेतको जोडी दोस्रो भए । राजेश चौधरी र इश्वरीदत्त भट्टको जोडी तथा तुला मगर र यमन दनुवारको जोडी तेस्रो भए ।
६२ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला व्याड्मिन्टन संघको संयुक्त आयोजनामा प्रतियोगिता बुधबारदेखि सञ्चालन भएको थियो ।
प्रतियोगितामा प्रथम, दोस्रो तेस्रोलाई क्रमशः नगद ६ हजार, ४ हजार, २ हजार तथा शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उनीहरुलाई प्रहरीद्वारा शुक्रबार विहान आयोजना हुने प्रहरी दिवस समारोहमा पुरस्कार प्रदान गरिने जनाइएको छ ।
ए र बी डिभिजन गरी ४० जोडीले भाग लिएको प्रतियोगिताकोे प्रायोजन त्रियुगा नगरपालिका र त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरले गरेको थियो । ए तर्फ ८ जोडा र बी टर्फ ३२ जोडाले भाग लिएका थिए । प्रतियोगिताका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जिल्लाका कटारी, जलजले, बेल्टार, बसाहा लगायतका खेलाडीहरुले भाग लिएका थिए ।
प्रहरी र नागरिकबीचको सम्बन्ध अझ सुमधुर बनाउने उद्देश्यका साथ प्रहरी दिवसको अवसरमा प्रतियोगिताको आयोजना गरिएको र भव्य÷सभ्यरुपमा सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए ।