
पूर्णपुष्टि, माघ ९ । गृहमन्त्री रमेश लेखकले शप्तकोसी नदीको दीर्घकालीन नियन्त्रणका लागि सरकारले गुरुयोजना बनाउन लागेको बताएका छन् । मंगलबार कोशी क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उनले कोशी कटान नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्था गरिने प्रतिबद्धता जनाए ।
कोशी कटान क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने, ‘कोशी नदी नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग तत्काल छलफल गरिनेछ । यस वर्ष कटान रोकथामका लागि जति बजेट आवश्यक पर्छ, त्यति नै व्यवस्था गरेर काम सुरु गरिनेछ ।’
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले कोसी कटानबाट पीडित जनताको जुनसुकै बेला विस्थापन हुनसक्ने खतरा रहेको बताए । उनले गत वर्ष कोसीको बाढीले तीव्र कटान गरिरहेको बेला तत्काल नियन्त्रणका लागि करिब तीन करोड रुपैयाँ खर्च गरिएको जानकारी दिए ।
बेलका नगरपालिकाका मेयर अशोक कार्कीले कोसी कटानले वार्षिक रूपमा पुर्याउँदै आएको क्षतिको विवरण प्रस्तुत गर्दै गृहमन्त्री लेखकलाई कोसी पीडितको तर्फबाट माग पत्र बुझाए।