
पूर्णपुष्टि/उदयपुर, फागुन २१ गते
-त्रियुगा नगरपालिका, आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालय, शहरी स्वास्थ्य केन्द्र सुकौराको उद्घाटन सोमबार गर्दै सोही केन्द्रबाट स्वास्थ्य शिविर सेवा पनि प्रदान भएको छ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीद्वारा उद्घाटन गरिएको सो केन्द्रमा वडा नं. १६ र आसपासका सर्बसाधारणले स्वास्थ्य जाँच तथा उपचारको सेवा पाएका थिए ।
विशेषगरी ग्रामिण भेगका नागरिकहरुले निःशुल्करुपमा आप्mनै ठाउँमा उपचार सेवा पाएका थिए । स्वास्थ्य चेँकजाँचको क्रममा महिलाहरुको तल्लोपेट (पाठेघर) खस्ने समस्या जटिलरुपमा देखिएको शिविरमा खटिएका चिकित्सकहरुले बताए । पाठेघर खसेर जटिल अवस्थाकालाई निःशुल्क अप्रेशनका लागि सरकारले तोकेको अस्पतालमा पठाइने बताइएको छ ।
स्थानीयको घर भाडामा लिई सञ्चालन गरिएको शहरी स्वास्थ्य केन्द्रको कार्यालयको उद्घाटन गर्दै मेयर चौधरीले जनताको स्वास्थ्यमा पहुँच सहजरुपले पुर्याउने उद्देश्यले केन्द्र सञ्चालनसंगै शिविर राखिएको बताउनुभयो ।
चिकित्सक, कर्मचारी तथा उपचार सामग्री, औषधि आदिको व्यवस्थापनसहित सञ्चालनमा आएको केन्द्रबाट स्थानीय जनतालाई सुलभ र सुविधाजनक ढंगले स्वास्थ्य सेवा प्रदान गरी जनप्रतिनिधिको सेवाको अनुभूति दिलाइने १६ नं. वडाध्यक्ष मानबहादुर राईले बताउनुभयो । सो केन्द्रबाट अवका दिनदेखि नियमितरुपमा स्वास्थ्य सेवा सञ्चालन हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा उपमेयर देवी चौधरी, रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, नगर कार्यपालिका तथा वडासदस्यहरु, जिल्ला जनस्वास्थ्य प्रमुख, अस्पताला डाक्टरहरु, नागरिक समाज, पत्रकार, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । उनीहरुले शुभकामना दिदै जनताले पाउने स्वास्थ्य सेवा प्रभावकारी हुनुपर्ने बताए ।
त्रियुगा नगरपालिका वडा नं. १६, आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालय र विहानी महिला सामुदायिक संस्थाको आयोजनामा हर्षोउल्लासका साथ सञ्चालन भएको कार्यक्रमको बीचबीचमा स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।